२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफलाई न्यु डायमन्ड कप उपाधि

काठमाडौं – विभागीय टोली एपिएफले आयोजक न्यु डायमन्ड एकेडेमीलाई हराउँदै आइतबार तेस्रो होङ्ग्वान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधि उचालेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा भएको फाइनलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ च्याम्पियन भएको हो। पहिलो सेटबाट नै आयोजकलाई पछि पार्दा एपिएफले २५–२० को जित निकालेको थियो। त्यसपछि दोस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। यद्यपि एपिएफले २५–२३ ले सेट आफ्नो बनाउँदै २–० को अग्रता लियो। तेस्रो सेटमा न्यु डायमन्डले खेलमा फर्किने संकेत देखाए पनि सफल हुन सकेन। तेस्रो सेट २५–१८ ले आफ्नो बनाउँदा एपिएफ सोझो सेटमा विजयी भएको हो।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, स्पाइकर प्रतिभा माली र लिब्रो सलिना श्रेष्ठ रहेको टोली न्यु डायमन्ड एपिएफसँग स्तब्ध बनेको हो। आइतबारको जितपछि एपिएफले लगातार दोस्रो पटक न्यु डायमन्डलाई हराएर उपाधि जितेको छ। पहिलो संस्करण भने न्यु डायमन्डले एपिएफलाई हराउँदै उपाधि जितेको थियो। तेस्रो होङग्वान्जी न्यु डायमन्ड कपको उपाधि उचालेको एपिएफले यो सिजनमा तेस्रो उपाधि आफ्नो बनाएको छ। एपिएफले यसअघि आठौं राष्ट्रिय खेलकुद र शेरबहादुर खड्का स्मृति महिला भलिबलको उपाधि जितेको थियो। एपिएफलाई उपाधि दिलाएका प्रशिक्षक महेशबहादुर चौधारीले ब्लक राम्रो भएकाले उपाधि जित्न सफल भएको प्रतिक्रिया दिए।

‘हामीले न्यु डायमन्डसँग ब्लकले जित्ने हो। रणनीति पनि ब्लक गर्दै खेल्ने थियो,’ प्रशिक्षक चौधरीले भने, ‘पहिलो र दोस्रो सेटमा हाम्रो रणनीति त्यति सफल हुन सकेन। डिफेन्स र रिसिभमा पनि समस्या भयो। तेस्रो सेटमा राम्रो ब्लक गर्न सक्यौं। जसका कारण हामीले सहजै जित निकाल्न सफल भयौं।’ उपाधिसँगै एपिएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको आयोजक न्यु डायमन्डले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त ग-यो। प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ। पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–२२, २५–९ र २५–१२ को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल ग-यो। 

पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैयाँ प्राप्त ग-यो।  चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँबाट पुरस्कृत भयो। तीन विभागीयसहित ७ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा च्याम्पियन टोलीकी स्पाइकर सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। सरस्वतीले नगद २१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाइन्।  एपिएफकी सरस्वतीले उत्कृष्ट सर्भर घोषित हुँदै ७ हजार १ सय १ रुपैयाँ प्राप्त गर्दा एपिएफकी हीरा केसी उत्कृष्ट ब्लकर घोषित भइन्। यस्तै न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर हुँदा डायमन्डकै अरुणा शाही उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिब्रोे घोषित भए। उत्कृष्ट क्विकर पुलिसकी कोपिला राना चुनिइन्। च्याम्पियन टोली एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले जनही ७ हजार १ सय १ रुपैयाँ  पुरस्कार पाए।

प्रकाशित: २८ पुस २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App