१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसियन तेक्वान्दोमा धमला

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आइटिएफ तेक्वान्दो महासंघको साधारणसभाबाट सदस्यमा निर्वाचित भएका छन्। नोभेम्बर १९ देखि २५ तारिखसम्म चीनको बेइजिङमा भएको साधारणसभामा ४५ राष्ट्रको सहभागिता रहेको धमलाले जनाएका छन्। धमला दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्षसमेत हुन्। धमलाले उक्त जिम्मेवारी आफ्ना लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए।

उनले एसियन तेक्वान्दोमा आर्जित ज्ञान नेपाली खेलकुदमा पनि प्रयोग गर्ने विश्वास दिलाएका छन्। ‘आफ्नो अनुभव, सीप र कौशललाई इमानदार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पित रहिरहनेछु,’ धमलाले भने, ‘साथै एसियाली तेक्वान्दोमा आएका अवसरमा नेपाली खेलाडीलाई दिने प्रयत्न गर्नेछु।’ धमला करिब दुई दशकदेखि यो खेलमा सक्रिय छन्।

वि.सं. २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको नेतृत्व समालेका थिए। जुन यात्रा दक्षिण एसियाको उपाध्यक्ष हुँदै एसियन तेक्वान्दोसम्म पुगेको छ। धमलाले नेपालका विभिन्न जिल्लामा आइटिएफ तेक्वान्दो खेल विकास गर्न महत्वपूर्ण भूमिकासमेत खेलेका छन्।

साथै दुर्गम क्षेत्रबाट खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि प्रोत्साहन गर्दै आइरहेका छन्। जसको कदर गर्दै अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले बुल्गेरियाको प्लामोदिभ सहरमा गत भदौमा सम्पन्न २७औं कंग्रेसले धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको थियो।

प्रकाशित: ७ मंसिर २०७६ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App