१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल गाेलको अन्तर घटाउन सफल

काठमाडौं – महत्वपूर्ण चार खेलाडीबिना पनि नेपालले कुवेतसँग मात्र १–० को पराजय बेहोरेको छ। यसअघि पहिलो अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले मंगलबार अन्तर घटाएको छ।

अनुशासन उल्लंघन गरेको भन्दै भुटान प्रस्थान गर्नुअघि अकस्मात् निर्णय गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्ट्राइकर विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टोलीबाट  हटाएको थियो। चार खेलाडी एन्फाको होस्टलबाट बाहिर निस्किएर ठमेलको नाइट डिस्कोमा भेटिएको भन्दै उनीहरूलाई एन्फाले टोलीबाट हटाएको हो।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाललाई स्तब्ध बनाउन कुवेतका बादेर अल मुटवाले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जुन जितले नेपालको आगामी यात्रालाई कठिन बनाएको छ। पुनर्निर्माणको काम नसकिएका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको खेल नेपालले भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेलेको थियो।

चिसो मौसमको पर्बाह नगरी चार हजार दर्शकले साथ दिएको खेलमा नेपालले उत्कृष्ट खेल्दाखेल्दै पनि भ्रमणकारी टोली कुवेतलाई रोक्न असफल रह्यो। पहिलो हाफमा लिएको अग्रतापछि दबाबमा परेको नेपालले खेलमा फर्किने केही राम्रा संकेत देखाए पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेन।

२८औं मिनेटको अग्रतालाई जोगाउँदै कुवेतले महŒवपूर्ण ३ अंक खोस्न सफल भएको हो। खेलअवधिभर नेपालले ३ अवसर पाए पनि गोल गर्न असफल रह्यो। २२औं मिनेटमा अभिषेक रिजाल क्लोज रेन्जबाट गोल गर्न चुक्दा नेपालले अग्रताको अवसर गुमाउन पुगेको थियो। अभिषेकको प्रहार गोलपोस्टमाथि अकासिएको थियो।  पछि परे पनि पहिलो हाफको अन्तिमतिर काउन्टरको प्रयास गर्दा रोहित चन्दले अर्को मौका खेर फाले। ४०औं मिनेटमा रोहितको सशक्त प्रहारलाई कुवेतका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै नेपालको योजना विफल पारेका थिए।

‘होम गेम’ का लागि भुटान प्रस्थान गर्नुअघि नेपालका मुख्य प्रशिक्षक योहान कालिनले ४ मुख्य खेलाडीलाई टोलीबाट हटाउँदै मिडफिल्डर सुवास गुरुङलाई भुटान लगेका थिए। टोलीमा समावेश भएका सुवासले कुवेतविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे। सुवासले ८९औं मिनेटमा तेज तामाङलाई प्रतिस्थापन गरेका थिए।

झीनो अन्तरले पराजित भएको नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘खेलाडीहरूले आज राम्रो खेले। अन्तिमसम्म पनि उनीहरूले मिहिनेत गरे। गोर्खाली शैलीमा खेले,’ सहायक प्रशिक्षक श्रेष्ठले भने, ‘एक अंक भए पनि लिने लक्ष्य थियो। सफल हुन सकिएन। यद्यपि केटाहरूको प्रदर्शन राम्रो रह्यो।’

सहायक प्रशिक्षक श्रेष्ठले अवसर पाउँदा सदुपयोग गर्न नसकेको बताउँदै आउँदा खेलमा मंगलबार भएको खेलमा देखिएका गल्तीलाई सच्याउँदै खेल्ने बताए। हारपछि छनोटतालिकाको समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक नै छ। नेपाल समूहको चौथो स्थानमा रहेको छ। कुवेत भने ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अब नेपालले अर्को घरेलु खेल चाइनिज ताइपेईसँग दशरथ रंगशालामा मार्च २६ (चैत्र १३) मा खेल्नेछ।

सम्पन्न दोस्रो अवे खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० ले पराजित भएको थियो। ‘खेलाडीहरूले आज राम्रो खेले। अन्तिमसम्म पनि उनीहरूले मिहिनेत गरे। गोर्खाली शैलीमा खेले। एक अंक भए पनि लिने लक्ष्य थियो। सफल हुन सकिएन। यद्यपि केटाहरूको प्रदर्शन राम्रो रह्यो।’

प्रकाशित: ४ मंसिर २०७६ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App