काठमाडौं – दक्षिण एसियाली खेलकुदको अवधारणा नेपालबाट सुरु भयो। एथ्लेटिक्सको स्वर्णसहित सुरुआत भएको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा एथ्लेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलन खेल समावेश थिए। नेपालले सर्वाधिक २४ पदक पोल्टामा पारेको थियो। भारत ४४ स्वर्णसहित पहिलो, ७ स्वर्णसहित श्रीलंका दोस्रो, ५ स्वर्णका साथ पाकिस्तान तेस्रो हुँदा चार स्वर्ण जितेको आयोजक नेपाल चौथो भएको थियो। बंगलादेश २ स्वर्णसहित पाँचौं हुँदा भुटान र माल्दिभ्स भने स्वर्णविहीन भएका थिए।
नेपालले ४ स्वर्ण, १२ रजत र ८ कांस्य पदक निकाल्दा राष्ट्रलाई पहिलो स्वर्ण दिलाउने एथ्लेटिक्सका वैकुण्ठ मानन्धर हुन्। पहिलो तीन संस्करणसम्म एथ्लेटिक्सबाट नेपाललाई स्वर्ण पदक दिलाएका मानन्धरको पदकको चर्चा सदा जीवन्त छ। लगातार तीन पटक स्वर्ण जित्दै इतिहास बनाएका मानन्धरलाई नेपालकै तेक्वान्दो खेलाडी दीपक विष्टले पछ्याए। दीपकले सन् १९९९ देखि २०१० को साफमा लगातार चार स्वर्ण जितेका थिए।
सार्क क्षेत्रकै चर्चित धावक मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो साफमा ४२.१९ किमिको दौड २ घण्टा १५ मिनेट ३ सेकेन्डमै पूरा गर्दै कीर्तिमान बनाएका थिए। तेस्रो संस्करणमा बनेको यो कीर्तिमान १२औं संस्करणसम्म कसैले भंग गर्न सकेको छैन।
तर संस्करणको संख्या बढेसँगै एथ्लेटिक्सको प्रदर्शन भने खस्ँिकदै गएको छ। १३औं दक्षिण एसियाली खेल (साग) नेपालमा तेहेरिँदा धावक वैकुण्ठ मानन्धर एथ्लेटिक्सले गरेको तयारीमा सन्तुष्ट छैनन्। ‘एथ्लेटिक्समा अहिले थुप्रै खेलाडी निस्किए। उनीहरूमा परिपक्व खेल छैन। एउटा प्रतियोगितामा सहभागिता जनाएको खेलाडी त्यस्तै अर्को प्रतियोगितामा सहभागिता जनाउँदैन,’ सागको एथ्लेटिक्समा ह्याट्रिक गरेको धावक मानन्धरले भने, ‘दत्तचित्त भएर समय सुधारका लागि प्रयास गर्ने खेलाडी कमै मात्र भए। पैसा र पदकका लागि खेलाडीले पछिल्लो समय प्रतिस्पर्धा गरेका छन्। कुनै पनि खेलाडीले समय सुधार गर्ने ध्यान दिएनन्। पदक हात पर्ने समयले हो। यसमा पनि जोड दिनुपर्छ।’
‘अहिलेको अवस्थामा आधुनिक पूर्वाधार र विज्ञ धेरै छन्। विदेशीबाट पनि खेलाडीले तालिम पाएका छन्,’ धावक मानन्धरले थपे, ‘दुई किसिमको उमेर हुन्छ। एउटा खेलको समय र अर्को आफ्नो उमेर। खेलमा निरन्तर समय व्यतीत गर्ने खेलाडी ज्यादै न्यून छन्।’
२०७२ को भूकम्पले थलिएको रंगशाला अहिले तङ्ग्रिँदै छ। रंगशालाले नयाँ स्वरूप पाउँदै छ। सोही रंगशालामा उद्घाटन समारोह, ट्य्राक एन्ड फिल्डका प्रतिस्पर्धा हुँदै छन्। सागको मिति नजिकिँदै गरे पनि आयोजक देशका खेलाडीले उक्त स्थानमा अभ्यास गर्ने मौका पाएका छैनन्। आँगनैमा आयोजना हुन लागेको स्थलमा अभ्यास गर्न पाए अभ्यस्त हुने अपेक्षा राख्छन् ४× १०० र ४×४०० रिलेमा भाग लिने एपिएफका धावक आशिष चौधरी।
‘रंगशालामा एथ्लेटिक्स इभेन्टहरू हुँदै छन्। अहिलेसम्म रंगशालामा अभ्यास गर्न पाएका छैनौं,’ धावक आशिषले भने, ‘केही दिनमा नै अभ्यासको व्यवस्था हुने जानकारी पाएका छौं। रंगशालामा नै अभ्यास गर्न पाएमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्थ्यो।’
यस्तै १ सय र २ सय मिटर दौडमा पनि सहभागिता जनाउने आशिषले साग तयारी रंगशालामा गर्न नपाए पनि उपलब्ध गराएको ट्य्राकमा एथेष्ट तयारी गरेको बताए।
‘जेठबाट नै क्लोज क्याम्पमा बसेर हामीले निरन्तर अभ्यास गरेका छौं। तयारी पनि राम्रो छ,’ धावक आशिषले थपे, ‘अहिले प्राविधिक विषयमा केन्द्रित रहेर अभ्यास गरेका छौं। गुरुहरूले पनि प्राविधिकसँगसँगै अन्य कुरालाई सिकाइरहनुभएको छ। कांस्य पदक निश्चित ल्याउँछांै, रजतका लागि मिहिनेत गरेका छौं।’
एथ्लेटिक्सतर्फ नेपालले कुल ३६ विधमा सहभागिता जनाउनेछ। त्यसका लागि १८ महिला र २६ पुरुष खेलाडी बन्द प्रशिक्षणमा छन्। ३६ पदकका लागि प्रतिस्पर्धा गर्न लागेको नेपालले कम्तीमा पनि ८ पदक ल्याउने बताउँछन् एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ।
‘ट्य्राक एन्ट फिल्डअन्तर्गत हामीले म्याराथन, ५ हजार र १० हजार मिटरमा पदक हात पार्नेमा म विश्वस्त छु,’ मुख्य प्रशिक्षक गुरुङले भने, ‘ त्यसमा पनि महिला र पुरुष म्याराथनमा स्वर्णको आशा गरिएको छ। खेलाडीले राम्रो तयारी गरिरहेका छन्। उनीहरूको अभ्यासमा सन्तुष्ट छु।’
धावक आशिषले भनेजस्तै प्रशिक्षक गुरुङ पनि रंगशालामा अभ्यास गर्न पाए खेलाडी अभ्यस्त हुने तर्क राख्छन्।
‘घरेलु स्थलमा आयोजना हुन लाग्दा खेलाडीको मनोबल उच्च छ। भद्रकालीको ट्य्राकमा अभ्यास भइरहेको छ। सहभागिता जनाउने खेलाडीलाई बसोबास, खानपिन र खर्चका लागि राज्यले यो संस्करणमा राम्रो प्रबन्ध गरेको छ,’ प्रशिक्षक गुरुङले थपे, ‘खेलस्थल रंगशालामा खेलाडीले अभ्यास गर्न पाए अभ्यस्त हुने थिए। त्यसका लागि पहल भइरहेको छ। चाइनिज कम्पनीले हस्तान्तरण नगरेसम्म हामीले नपाउने सुनेको छु। दुई–चार दिनमा व्यवस्था मिल्ने आशा छ।’
सात देशका खेलाडीबीच प्रतिस्पर्धा हुने प्रतियोगितालाई तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले अवधारणाको रुपमा अगाडि ल्याएका थिए। शाहको अवधारणा सन् १९८४ सेप्टेम्बरमा नेपालमा सिद्ध पनि भयो। सामान्य पूर्वाधार र केही खेललाई मात्र समावेश गरेर आयोजना गरिएको खेलकुद महोत्सवमा दुई÷दुई वर्षमा आयोजना गर्ने प्रावधान भए पनि पछिल्लो समय निर्धारित समयमा हुन सकेको छैन।
‘एथ्लेटिक्समा अहिले थुप्रै खेलाडी निस्किए। उनीहरूमा परिपक्व खेल छैन। एउटा प्रतियोगितामा सहभागिता जनाएको खेलाडी त्यस्तै अर्को प्रतियोगितामा सहभागिता जनाउँदैन। दत्तचित्त भएर समय सुधारका लागि प्रयास गर्ने खेलाडी कमै भए।’
प्रकाशित: ३ मंसिर २०७६ ०२:११ मंगलबार