२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा

काठमाडौं – आयोजक दीपशिखा युवा समूहमाथि सहज जित निकाल्दै ‘ए’ डिभिजनको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा बिबिसीले ९ खेलाडीमा समेटिएको दीपशिखामाथि ३–० को सहज जित हात पार्दै अन्तिम आठको यात्रा तय गरेको हो। बिबिसीको जितमा रितिक खड्का, शिशिर लेखी र मलिना आङथापोले गोल गरे।

खेलको २९औं मिनेटमा रितिकको गोलबाट बिबिसीले गोलको खाता खोलेको थियो। पहिलो हाफमा आयोजक दीपशिखा १० खेलाडीमा समेटिएको थियो। साइल अधिकारी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिँदा १० खेलाडीमा समेटिएको हो। ४९औं मिनेटमा शिशिर लेखीले बिबिसीको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा मलिनाले गोल गर्दै बिबिसीलाई ३–० को सहज जित दिलाए। विपक्षी खेलाडीलाई हात हालेपछि दीपशिखाका मिलन गोलेलाई सीधै रातो कार्डको दर्शन गराउँदै रेफ्रीले मैदानबाहिर पठाएका थिए। त्यसपछि थप गोल हुन सकेन र बिबिसी अन्तिम ८ को यात्रा तय गर्न सफल भएको हो।

प्रतियोगितामा आइतबार आयोजकको चन्द्रागिरि नगरपालिका र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा आयोजक दीपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब छन्। समूह ‘बी’ मा चन्द्रागिरि नगरपालिका, फ्रेन्ड्स क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब  छन्। प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ। दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको पहिलो संस्करणको उपाधि हिमालय शेर्पा क्लब र दोस्रो संस्करणको उपाधि भ्याली च्यासल युथ क्लबले उचालेका थिए।

प्रकाशित: १ मंसिर २०७६ ०४:४० आइतबार

दीपशिखा प्रतियोगिता क्वार्टरफाइनल