काठमाडौं – नेपाली युवा टोलीले यु–१९ च्यालेन्जर्स क्रिकेट सिरिजमा खराब सुरुआत गरेको छ। हैदरबादस्थित जिमखाना मैदानमा भएको पहिलो खेलमा नेपालले भारतको ‘सी’ टोलीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको हो। नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य भारतले मात्र २२ ओभरमा बिनाविकेट क्षति पूरा गरेको हो।
भारतको सहज जितमा अर्जुन आजादले सर्वाधिक अविजित ६७ र दिभ्यनाश अजयकुमार सक्सेनाले अविजित ५२ रनको योगदान गरे। पहिलो विकेटका लागि यी दुई ओपनरले शतकीय साझेदारी गरेका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ३२.१ ओभरमा मात्र १ सय १४ रन सीमित बनेको थियो। नेपालका लागि कुशल मल्लले जोडेको २६ व्यक्तिगत सर्वाधिक रन बन्यो।
भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतका तीन टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा भारतको भारत ‘ए’, भारत ‘बी’ र भारत ‘सी’ टिम रहेका छन्। सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले बुधबार भारत ‘ए’ र अन्तिम खेलमा शुक्रबार भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २६ कार्तिक २०७६ ०३:५१ मंगलबार