१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसलाई रोक्दै चर्च ब्वाइज फाइनलमा

दमक – मुख्य दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा भइरहेको अन्नपूर्ण हाम्रो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

फाइनलमा चर्च ब्वाइजले त्रिभुवन आर्मीको सामना गर्नेछ। शनिबारको अन्तिम सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो। चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो।

पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो। खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो। वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो।

तर, पेनाल्टीमा सुमनकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरु भएको थियो। त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइजले अग्रता लियो।

खेलको २६औँ मिनेटमा सुनिल खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाए। उसका लागि भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले भली गरेर बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनील खड्काले गोलपोस्टको दिशा दिएका थिए।

खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेनन्। खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका सुनील खड्का घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। १० वटा टोली सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल भिड्नेछ। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछन्।

 

प्रकाशित: २४ कार्तिक २०७६ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App