१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पौष्टिक आहारका लागि कृषि उत्पादन गर्दै जुम्लाका खेलाडी

खेतिपाती भित्र्याउदै एथ्लेटिक्स खेलाडी। तस्विर/नागरिक

जुम्ला– जुम्लाका खेलाडीहरु खेलकुदसंगै कृषि क्षेत्रमा पनि हात हाल्दै आएका छन्। जिल्लामा खेलाडीलाई पर्याप्त पौष्टिक आहार र आर्थिक समस्या उत्पन्न भएपछि खेलाडीहरु आफैं कृषि क्षेत्रमा होमिएका हुन्।

एकोहोरा प्रशिक्षण गरिरहँदा स्वास्थ्य निकै कमजोर हुन्छ। पोषणयुक्त खानेकुरा किन्ने रकम जुटाउन जिल्लाका खेलाडीहरुलाई झनै समस्या पर्दै आएको छ। पोषण अभावको उपयुक्त विकल्पका रुपामा खेलाडीहरु बाध्य भएर खेतिपातीमा लागेका हुन्। 

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा एथ्लेटिक्स धावकहरु तरकारी खेति गरिरहेका भेटिन्छन्। तर खेलाडीको बाध्यता कसैले बुझ्न सकेका छैनन्। धावक हरीबहादुर रोकाया  अहिले ४० खेलाडी लाई प्रशिक्षण दिइरहेका छन्।

धावक रोकायाले आफ्नो क्षेत्रबाट धेरै खेलाडी उत्पादन भएको बताए। ‘विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, रेजिना भण्डारी, दुर्ग बुढा विष्णु बुढा जस्ता खेलाडी उत्पादन गरियो’ उनी भन्छन्,‘अहिले उनीहरुले राष्ट्रिय अन्तराष्ट्रिय खेल क्षेत्रमा  निकै राम्रो प्रख्याति कमाइरहेका छन्।’ खेलाडी उत्पादन गर्दा सधैँ आर्थिक संकटको सामाना गर्नु पर्ने धावक रोकाया गुनासो गर्छन्। 

‘खेलाडीलाई राज्यले चिन्न सकेन्, अब आफै खेतिपाती गरेर खेलाडीको खेल अभ्यास गराउछौँ’ उनी भन्छन्। उनले खेलाडीलाई प्रशिक्षण समयमा खाजा समेत उपलब्ध गराउन समस्या भइरहने गुनासो गरे। एथ्लेटिक्स खेलाडीले सिमी, फापर, मुला, चोतो, गाजरलगायत खेती गरिएका छन्। गत असारमा लगाएको सिमी र फापर यतिबेला पाकिसकेको छ।

मुला, चोतो, गाजर, साग, धनियाँ उम्रेर बिक्रि भइसकेको छ। अहिले बाली भित्र्याउन खेलाडीलाइ भ्याइनभ्याइ छ। अहिले सिमी र फापरको बजार भाउ राम्रो छ। खेलाडीले उब्जाएको अन्न बेचेर खेलाडीको खर्च धानिने र आत्मनिर्भरताको प्रयास हुने कर्णाली खेलकुद क्लवले बताएको छ। 

खेतीपातीमा लागेपछि खेलाडीलाई बाहिरका प्रतियोगितामा सहभागी हुन तथा तालिम अबधिमा खाजा खान सहज भइरहेको छ। खेलाडी बाहिर जाँदा भाडा र खाना खर्च तथा रेसको समयमा खाजाको व्यवस्था भइरहेको छ। धावक सीता न्यौपानेले आर्थिक समस्याका कारण खेतीपाती थालेको बताइन्। पछिल्लो समय जुम्ला एथलेटिक्समा चर्चित बन्दै गइरहेको छ।

बाहिरबाट खेलाडी जुम्लामा तालिम लिन आउने क्रम पनि बढिरहेको छ। गएको असारमा मिरा राईको पहलमा काठमाडौं र काभ्रेका खेलाडीले तालिम लिन जुम्ला पुगे। अबको केही महिनामै विदेशीसमेत तालिमको लागि आउने तयारी गरिरहेको धावक हरीबहादुर रोकाया बताउँछन्। 

पछिल्लो समय क्लबले खेती गरिरहेको जग्गामा कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी पनि प्रयोगात्मक कक्षाको लागि आइरहेका छन्। खेलाडीले गरेको कामलाई नेपालकै जेठो कर्णाली प्राविधिक शिक्षालयले पनि प्राविधिक सहयोग गरेको छ। उक्त स्थानमा १८ महिने कृषि जेटिए पढ्ने विद्यार्थी प्रयोगात्मक कक्षाको लागि आउने गरेका छन। 

‘खेतिपातीलाइ निरन्तरता दिने तयारी गरेका छौँ’ कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले भने, ‘जाडो मौसमका लागि बेमौसमी तरकारी खेतीको तयारी भैरहेको छ, तरकारी लगाएर बचेको जग्गामा  जौं खेती गर्न लागेका छौँ। ’
 

 

प्रकाशित: १५ कार्तिक २०७६ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App