दुबई (एएफपी) – घरेलु मैदानमा ट्वान्टी–२० विश्वकप छनोट सुरु हुन एक दिनअघि मात्र बुधबार खेलमिलेमतोमा मुछिएका युएईका कप्तान मोहम्मद नाभिदले आफ्नो कारण सारा राष्ट्रकै इज्जत गएको प्रतिक्रिया दिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार नाभिदसहित अन्य तीन खेलाडीको नाम सार्वजनिक गरेको थियो। नाभिदसँगै साइमन अनवर र कादिर अहमेदमाथि आइसिसीले १२ महिनाको प्रतिबन्ध लगाएको छ।
छनोट चरणको खेल शुक्रबारबाट सुरु हुँदै छ। उनीहरूलाई तत्कालका लागि लागू हुने गरी ट्वान्टी–२० छनोट टोलीबाट हटाइसकिएको छ।
‘मेरो परिवार, मेरा साथी, क्रिकेट टोली र समर्थक सबैलाई मैले गिराउने काम गरें,’ नाभिदले भने, ‘यो मेरो गल्ती हो। म मेरो खेलप्रति निकै गम्भीर छु। मैले युएइएबाट सफलता हात पारिरहेको थिएँ। अहिले मेरै गल्तीले मैले सबै गुमाएँ। मलाई आत्मग्लानि छ। मैले यस बारेमा क्रिकेट बोर्ड र आइसिसीसँग छलफल किन गरिन ? यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु।’
प्रकाशित: १ कार्तिक २०७६ ०१:४५ शुक्रबार