१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खुला मैत्री तेक्वान्दोको तयारी पूरा

काठमाडौं (नागरिक) – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि सुरु हुने दुईदिने प्रतियोगितामा सहभागी हुन देशभरका सात सय  खेलाडी चितवन पुगेका छन्। कात्तिक १ र २ गते हुने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरी ४६ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पुष्पराज जोशीले जानकारी दिए। यस्तै, पुम्सेमा ८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) र ललितपुर मैत्री तोक्वान्दो डोजाङको सहयोग तथा सहकार्यमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभिन्न ४० जिल्ला, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र विभिन्न डोजाङका खेलाडीले ५४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ७४ केजीमुनि र ८० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ सहभागी खेलाडीले ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा १८ वर्षभन्दा माथिको तौलसमूहअन्तर्गत पुरुषतर्फ ३ र महिलातर्फ दुई गरी पाँच जना उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पुरुषतर्फका उत्कृष्ट तीन र महिलातर्फ उत्कृष्ट दुई जना खेलाडीलाई सन् २०२० को मेमा अमेरिकाको मिसिगनमा आयोजना हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सहभागी गराइने आइओएफटिसीका निर्देशक दिवाकर मर्हजनले जानकारी दिए। चितवनको राष्ट्रिय प्रतियोगिताका लागि दिवाकर र अन्तर्राष्ट्रिय प्रशिक्षक लव गोर्खाली पनि अमेरिकाबाट चितवन पुगेका छन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट टिम र उत्कृष्ट तेक्वान्दो प्रदर्शनी गर्ने खेलाडीलाई पनि जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता गर्न साढे १४ लाख रुपैयाँ खर्च हुने जानकारी पनि संयोजक जोशीले दिए । यसअघि दोस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो खोटाङको ऐसेलुखर्कमा भएको थियो । पहिलो संस्करणको प्रतियोगिता भने ललितपुरमा भएको थियो।

प्रकाशित: १ कार्तिक २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App