२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फुटबल मैदानमा बरमुढा घाँस बिछ्याउन सुरु

पोखरा रंगशालामा कोलकाताबाट ल्याइएको चपरी बिछ्याइँदै। तस्बिर : धन बस्नेत/नागरिक

पोखरा – चार दिन वीरगञ्ज भन्सारमा अड्किएको पोखरा रंगशाला फुटबल मैदानको दूबो (चपरी) बिहीबार पोखरा आइपुगेको छ। कोलकाताबाट १८ तारिखमा हिँडेको बरमुढाको दूबोसहितको चपरी बिहीबार दिउँसो पोखरा आइपुगेको हो।
बिहीबार आएको एक कन्टेनर चपरी रंगशालापरिसरमा बिछ्याउन सुरु गरिएको छ।

‘चार दिनजति वीरगञ्ज भन्सारमा अड्कियो,’ पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस् एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)का प्रोजेक्ट म्यानेजरको दीपक बरालले भने, ‘भन्सारको नेपाली कस्टमबाट पास गरेपछि पोखरा आइपुगेको हो।’ पोखरा आइपुगेको दूबो केही सुक्खा देखिएको छ।

एउटा दूबोको चपरी १० वर्गफिटको छ। टुक्राटुक्रा चपरी बनाई ल्याइएको छ। एउटा घाँसको चपरी २.५ फिट चौडाइ र ४ फिट लम्बाइको छ। १० स्क्वायर फिटको चपरी नौ दिनपछि पोखरा आइपुगेको थियो। पोखरा रंगशाला ९० हजार स्क्वायर फिटको छ। त्यसअनुसार नौ हजार चपरीका टुक्रा आउने क्रममा छन्।

६ वटा ट्रकमा चपरी लोड भएर आउने प्रोजेक्ट म्यानेजर बरालले बताए। आइसकेको चपरी बिछ्याउन सुरु  गरेको उनले बताए। चपरी मैदानमा सर्न एक महिना लाग्ने अनुमान गरिएको छ। रंगशालाको फुटबल मैदान यतिबेला बालुवा राखेर सम्याउने काम टुंग्याइसकिएको छ।

केही दिनअघि मात्र जर्मनबाट एथलेटिक्स ट्र्याकका लागि आवश्यक सामान आइपुगेको थियो। ट्र्याक एन्ड फिल्डको रनिङ ट्र्याकलाई सिन्थेटिक बनाइनेछ। सिन्थेटिक ट्र्याकका लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ। ट्र्याक कालोपत्रे (पिच) गरेपछि मात्र रबर दानालाई केमिकल प्रयोग गर्दै ट्र्याकमा हालिने कम्पनीले जनाएको छ। गत फागुन २६ गतेदेखि मैदान निर्माण सुरु गरिएको हो।

कृत्रिम घाँस र प्राकृतिक घाँसेमैदान बनाउने भन्ने लामो समयको विवादपछि प्राकृतिक मैदान बनाउने निर्णय गरिएको थियो। निर्णयसँगै प्राकृतिक घाँस भारतको कोलकाताबाट ल्याइने निर्णयसँगै घाँस आएको हो। चपरीका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(इन्जिनियर) प्रनिस ताम्राकारले घाँस निरीक्षण गरी फर्किएका थिए।

मैदानसँगै सिटका लागि आवश्यक फाउन्डेसन तयारी गरिँदै छ। सिटको सामान फ्रान्सबाट हिँडिसकेको जनाइएको छ। नोभेम्बरको दोस्रो साता सिटको सामान पोखरा आइपुग्ने दाबी कम्पनीले गरेको छ। १५ दिनभित्र सिटलाई जोडिसक्ने योजना कम्पनीको छ। १६ हजार पाँच सयबाट बढेर २० हजार गरी भिआइपी र दर्शक सिट क्षमताको प्यारापिट हुनेछ। एक अर्ब २८ करोडको लागतमा निर्माणाधीन फुटबल मैदान कात्तिक १५ भित्रमा सक्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ११ आश्विन २०७६ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App