२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सगरमाथा क्षेत्रमा गल्फ हुने

काठमाडौं– तेस्रो संस्करणको बाह्रखरी ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को तेस्रो संस्करण आगामी अक्टोबरमा हुने भएको छ। बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिाताको बारेमा जानकारी दिएको छ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा र प्रचारप्रसारको उद्देश्य राखेर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा आयोजना गर्ने जनाएको हो। दुई चरणमा सञ्चालन हुने प्रतियोगितामा पहिलो चरण २० अक्टुबर २०१९ का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी  दियो। उक्त उचाइमा ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन्। दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन्। दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बताइएको छ। 

गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ। यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो खेल रहेको दाबी गरिएको छ। यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ। 

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिंगापुर, श्रीलंका, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ। साथै, सिएनएन, बिबिसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको छ। 

प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिले नेपाल भ्रमण गर्ने अपेक्षा आयोजकले लिएको छ। 

 

प्रकाशित: ७ आश्विन २०७६ ०५:४८ मंगलबार

आमन्त्रण_गल्फ_प्रतियोगिता