१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसलाई प्रकाश स्मृति भलिबल

काठमाडौं– घरेलु पुरुष भलिबल प्रतियोगिताको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता नेपाल पुलिस क्लबले जितेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेलमैदानमा शनिबार भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

राष्ट्रिय खेलाडीले भरिएको निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले एकपक्षीय नतिजा निकाल्न सफल भएको हो।  पुलिस तीन सेटमा समान २५–२२ को जित निकाल्न सफल भएको थियो। सबै सेटमा आर्मीले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपविजेतामा खुम्चिनुपरेको हो। 

चोटका कारण मुख्य स्पाइकर मानबहादुर श्रेष्ठबिना फाइनल खेलेको आर्मी पुलिससामु कमजोर नै देखिएको थियो। मानबहादुर गत सोमबार भएको फाइनलदौरान नै बायाँ खुट्टामा चोटका कारण बाहिरिएका थिए। उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पार्यो।

दोस्रो भएको आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझायो। तेस्रो भएको गण्डकी प्रदेशले १ लाख तथा चौथो भएको नेपाल एपिएफ क्लबले ५० हजार रुपैयाँ हात पारे। व्यक्तिगत विधामा च्याम्पियन पुलिसले वर्चस्व जमाउँदा आर्मीका धनबहादुर भट्ट क्षेत्री प्रतियोगताको सर्वाेत्कृष्ट खेलाडी चुनिए।

उनले एक थान टिभिएस मोटरसाइकल हात पारे। पुलिसका कुलबहादुर थापा बेस्ट स्पाइकर, कप्तान इमबहादुर राना सेटर, द्वारिका थापा सर्भर, भीम गाहामगर लिबेरो र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए। गण्डकी प्रदेशका याम क्षेत्री उत्कृष्ट ब्लकर चुनिए। व्यक्तिगत विधाका उत्कृष्टहरूले जनही १० हजार रुपैयाँ पाए।

प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए। लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको प्रतियोगिताको फाइनल खेल साउन २८ मै हुने भए पनि वर्षाका कारण प्रतियोगिता लम्बिन पुगेको थियो।

सोमबारलाई तय फाइनल खेलको तेस्रो सेट चलिरहँदा वर्षा भएपछि मंगलबारलाई सारिएको थियो। मंगलबार पनि खेल नै सुरु हुन नसकेपछि आयोजकले रेफ्री कमिटी र फाइनलका दुई टोलीबीचको प्रतिनिधिसँगको सल्लाहमा शनिबारका लागि फाइनल तय गरिएको थियो। 

सबै सेटमा आर्मीले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपविजेतामा खुम्चिनुपरेको हो। 

प्रकाशित: ५ आश्विन २०७६ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App