१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौं तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, शिव र अर्णवलाई स्वर्ण

काठमाडौं – आयोजक नेपालका शिव परियार र अर्णव ढुङ्गानाले तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शनिबार शिव र अर्णवले फाइटको क्याडेटतर्पm स्वर्ण जितेका हुन्। शिवले ४१ केजीमुनि फाइनलमा नेपालकै रवि चौधरीलाई हराउँदै स्वर्ण जिते। सोही विधामा भारतका कौशल कुमार र सोयब खानले कांस्य पदक प्राप्त गरे। अर्णवले भने महिला २९ केजी तौलसमूहमुनि नेपालकी नर्तुअ केसीलाई हराउँदै स्वर्ण जित्न सफल भइन्।

यस विधामा भारतकी भक्ति सिंह र नेपालकी रोजिसा खड्काले कांस्य पदक जिते। युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो दिन क्याडेट महिला २६ केजीमुनि नेपालकी रोश्नी तामाङले स्वर्ण जित्न नेपालकै नोजमी बिमोलीलाई हराइन्। यस तौलमा नेपालकै खेलाडीको वर्चस्व रहँदा प्रेक्षा श्रेष्ठ र ललिता शाहीले कांस्य जितेका थिए।

जुनियर महिला ५२ केजीमुनि नेपालकी अञ्जली राईले स्वर्ण जितिन्। उनले फाइनलमा नेपालकै जमुना मल्ललाई हराइन्। यस तौलसमूहमा नेपालका अनीषा बखती र कविता तामाङ तेस्रो भए। पुम्सेतर्पm जुनियर महिलाको कलर बेल्टमा विदेशी खेलाडी हाबी हुँदा अमेरिकाकी सोफिया तान्जीले स्वर्ण जितिन्।

सोफियाले फाइनलमा क्यानडाकी इलिसेभा तुर्किङ्टनलाई हराइन्। अमेरिकाकै ओया सुलेले भने कांस्य पदकमा चित्त बुझाइन्। यस विधाको पुरुषतर्पm नेपालका सुमित महर्जनले स्वर्ण जित्दा आफ्नै देशका सुप्रसिद्ध शाहीलाई हराए। क्यानडाका स्यामुल तुर्किङ्टन र अमेरिकाका आर्यन केभिन कांस्य पदकमै सीमित भए।

पुम्से सिनियर पुरुष कलर बेल्टमा नेपालका सनयुग शाक्यले स्वर्ण जित्दा नेपालका रोमन शाक्यलाई पछि पारे। नेपालका प्रभात श्रेष्ठ र भारतका युवराज सिंहले कांस्य पदकमा चित्त बुझाए। यु–१५ उमेरसमूहको जोडी पुम्सेमा मलेसियाका केभिन खो चियमिङ र सिरेल सी जिन पिङको जोडीले सफलता प्राप्त गरे। मलेसियन जोडीले फाइनलमा नेपालका प्रशान्त तामाङ र विनीता लामाको जोडीलाई पछि पारेका थिए।

गत शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिप आगामी भदौ २९ गते सञ्चालन हुनेछ। च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्। टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा सञ्चालित च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानाडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका छन्।

च्याम्पियनसिपको फाइटमा क्याडेटतर्पm पुरुष तथा महिला दुवैमा आठ तौल समूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: २९ भाद्र २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App