२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मंसिर अन्तिम सातादेखि ‘ए’ डिभिजन लिग

काठमाडौं – नेपाली फुटबलको मेरुदण्डको रूपमा हेरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट हुने भएको छ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) विज्ञप्ती जारी गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट सञ्चालन गर्ने जनाएको हो। लिगमा ‘ए’ श्रेणीका १४ क्लबले सहभागिता जनाउनेछन्।

५ वर्षपछि २०७५ मा रेलिगेसनविनाको लिगको आयोजना गरेको एन्फाले यो सिजन भने रेलिगेसन हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। ‘नयाँ रंगशालामा नयाँ व्यवस्थाका साथ स्तरीय लिग गर्नेछौं। लिगका सबै नियमलाई पालना गर्दै यो संस्करण आयोजना हुन्छ,’ निर्देशक मिश्रले भने, ‘लिग सञ्चालन गर्ने योजनासहित सहभागिता जनाउने सबै क्लबलाई पत्रचार गरिसकेका छौं। लिग तोकिएकै समयमा सुरु हुन्छ।’

यसअघि नै एन्फाले १५ हजार दर्ता शुल्क तोकेर खेलाडी दर्ता गराउन आह्वान गरेको थियो। नेपालको कतार विश्वकप छनोटको पाँचौं खेलपछि एन्फाले लिगका लागि मिति तय गरेको हो। मंसिर ३ गते कुवेतसँग छनोट चरणको पाँचौं खेल खेलिसकेपछि अर्को खेल चैतमा मात्र भएकाले त्यो बीचमा लिग आयोजना गर्न लागिएको मिश्रले बताए।

अन्तराष्ट्रिय स्तरको एक मात्र रंगशाला वि.सं. २०७२ को भूकम्पका कारण क्षति भएपछि करिब ५ वर्ष रोकिएको लिग २०७५ मा सञ्चालन भएको थियो। लिगको मर्मविपरीत रेलिगेसन नहुने प्रावधानसहित सम्पन्न भएको गत लिगमा १४ क्लबले सहभागिता जनाएका थिए। जसको उपाधि मनाङ मस्र्याङ्दीले उचालेको थियो। यससँगै मनाङले सर्वाधिक ८ पटक उपाधि जित्यो।

हाल एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा निर्माण कार्य भइरहेको छ। मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरेर निर्माण कार्य भइरहेको छ। यो निर्माणसँगै लिग गर्ने मैदान बन्नेमा एन्फा आशावादी छ। साथै एन्फाले विज्ञप्तीमा अबदेखि नोभेम्बर १ मा ‘ए’ डिभिजन लिग गर्ने स्थायी मिति तय गरेको छ।मंसिर २८ गतेबाट सञ्चालन हुने रेलिगेसनसहितको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

 

प्रकाशित: २१ भाद्र २०७६ ०२:०९ शनिबार

फुटबल मेरुदण्ड डिभिजन_लिग