९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

धरानमा बास्केटबल क्रेज बढ्दो

बास्केटबलको प्रशिक्षण लिइरहेका विभिन्न स्कुलका विद्यार्थी। तस्बिरः नागरिक

धरान- राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५/७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।

समितिले फाइवर बोर्ड, रातमा पनि खेल्न मिल्ने लाइट, अढाई सय क्षमताको प्यारापिट निर्माण ग-यो। अहिले त्यही मिनी कभर्ड हलमा तेस्रो समर बास्केटवल ट्रेनिङ क्याम्प शनिबारदेखि सुरु भएको छ। ‘बास्केटबलका गतिविधि नियमित भइरहेको छ, बास्केटवल संघ पनि सक्रिय छ र धरानमा बास्केटबलको क्रेज बढदो छ,’लगानी गर्नुको कारणबारे नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले भने,‘बास्केटबलप्रतिको लगाव र समर्पणलाई थप प्रोत्साहन गर्नलाई लगानी गरिएको हो।’ बास्केटबलप्रतिको क्रेज देखेर नै नगर खेलकुद समितिले धरानका ५ वटा सामुदायिक विद्यालयमा पूर्वाधार (बास्केटबल कोर्ट) पनि निर्माण गरिदिएको उनले बताए।

नगर खेलकुदका अध्यक्ष राईको भनाइले मात्र होइन, धरानमा बास्केटबलको गतिविधि र सहभागिताले यो खेलप्रति युवा, बालबालिका सबैमा क्रेज बढ्दो देखिन्छ। मिनी ब्राजिल भनेर परिचित धरानमा फुटबलका जति गतिविधिहरू हुन्छन्, त्यतिकै संख्यामा बास्केटबलका पनि हुन्छन्। ‘एसइई दिएर बसेका विद्यार्थीलाई बर्सेनि ट्यालेन्ट हन्ट कार्यक्रम गर्छाैं, र उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति पनि दिइरहेका छौं,’ सुनसरी जिल्ला बास्केटबल संघका सचिव तथा प्रदेश १ का प्रशिक्षक विकास चाम्लिङ राईले भने,‘बास्केटबलप्रतिको क्रेज देखेर नै स्कुल, कलेजहरुले छात्रवृत्ति दिइरहेका छन्।’

उनका अनुसार धरानमा एक दशकअघिदेखि बास्केटबलका खेलाडीले उच्च शिक्षामा छात्रवृत्ति पाइरहेका छन्। यो वर्ष मात्र ट्यालेन्ट हन्टका डेढ दर्जन उत्कृष्ट खेलाडीले विभिन्न विद्यालय र कलेजमा छात्रवृत्ति पाए। संघले हरेक वर्ष गर्मी बिदाको समय सदुपयोग गर्न समर क्याम्प प्रशिक्षण पनि आयोजना गर्छ। समर क्याम्पमा २ कक्षादेखि  १२ सम्मका सयौंको संख्यामा विद्यार्थी सहभागी हुन्छन्। हरेक वर्ष आयोजना हुने स्कुल ओलम्पिक मेयर कपमा फुटबल जतिकै महिला र पुरुषको टिम बास्केटबल पनि हुन्छ।

धरानमा खास गरी स्कुल र कलेजका विद्यार्थीहरुमा बास्केटवलप्रति आकर्षण बढ्दो छ। स्टाइलिस खेल पनि भएकोले बास्केटबलमा विद्यार्थी र युवाको रुचि छ। विद्यार्थीको रुचि बुझेरै यहाँका अधिकांश निजी विद्यालयहरुले बास्केटबल कोर्ट बनाएका छन्। ‘विद्यार्थीमा बास्केटबल लोकप्रिय छ, त्यसैले विद्यार्थीाई आकर्षित गर्न पनि निजी स्कुल, कलेजले कोर्ट बनाएका छन्,’ बास्केटबलका प्रशिक्षक राई भन्छन्, ‘समुदायस्तरमा पनि धरानमा थुप्रै बास्टेकबल कोर्ट छन्, यो खेलको लोकप्रियता यसले नै देखाउँछ।’

निजी स्कुलबाहेक धरानमा सामुदायस्तरमा पनि थुप्रै बास्केटबल कोर्ट निर्माण भएको छ। धरानको डिपोट उच्च माविको बास्केटबल कोर्ट अन्तर्राष्ट्रिय मापदण्डको छ। यहाँ सातौं राष्ट्रिय खेलकुदअन्र्तगत बास्केटबल प्रतियोगिता पनि आयोजना गरिएको थियो। राति पनि खेल्न मिल्ने लाइटको व्यवस्था गरिएको छ भने फाइवरको बोर्ड छ। भर्खरै रंगशालाको मिनी कभर्ड हलमा बास्केटवल कोर्ट बनेको छ। यो इन्डोर बास्केटबल कोर्ट प्रदेश १ कै पहिलो हो।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान १७ क्षितिज टोलस्थित निम्न मावि, सप्तरंगी पार्क, धरान ८ स्थित यलम्बर खेलमैदान, धरान १९ स्थित हरियाली सामुदायिक वन समूहमा पनि बास्केटबल कोर्ट छ। यस्तै, धरान १५ स्थित बाँझगरा, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि बास्केटबल कोर्ट छ।

उद्गम थलो धरान

नेपाली खेलकुदमा राजधानी काठमाडौंको दबदबा भइरहँदा बास्केटबलमा भने काठमाडौंलाई धरानले सधैं चुनौती दिइरह्यो। एक दशकअघि (२०६४ मा) यु–१७ सेन्ट जेभियर अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगितामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै गएको धरानको डिपोट स्कुल च्याम्पियन बनेको थियो। त्यसको २ वर्षपछि यु १९ कलेजस्तरीय प्रतियोगितामा पनि फाइनल पुगेको डिपोट उपविजेता बन्यो।

धरानमा एक दशकअघिदेखि बास्केटबलका खेलाडीले उच्च शिक्षामा छात्रवृत्ति पाइरहेका छन्। यो वर्ष मात्र ट्यालेन्ट हन्टका डेढ दर्जन उत्कृष्ट खेलाडीले विभिन्न विद्यालय र कलेजमा छात्रवृत्ति पाए।


नेपालमा बास्केटबल खेलको धरानबाटै  सुरु भएको यो खेलसँग सम्बन्धित व्यक्तिको दाबी छ। ‘धरानमा २०१० सालमा नेपाली युवाहरू भर्ती लिन ब्रिटिस घोपा क्याम्प स्थापना भएको हो। त्यस बेला नै गोराहरू मनोरञ्जन र फिटनेसका लागि  क्याम्पभित्र बास्केटबल खेल्थे। त्यसैले नेपालमा यहींबाट यो खेल सुरु भएको भनिएको हो,’ नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका धरान बास्केटवल संघका अध्यक्ष सुरज लामा भन्छन्, ‘गोराले भर्ती लाग्ने युवालाई एक घण्टासम्म ट्रेनिङ गराउँथे, त्यसैको प्रभावमा कलेज, समुदायस्तरमा पनि  धमाधम कोर्ट बन्न थाले।’

ब्रिटिस लाहुरेबाट पेन्सन पकाएकाहरुले समाजमा कोर्ट बनाइदिएर बास्केटबल खेललाई सबैको पहुँचमा पु¥याइदिए थिए। चालीसको दशकमा यहाँ बास्केटबल कतिसम्म लोकप्रिय थियो भने धरान १७ को निम्न माविमा वडास्तरीय बास्केटबल प्रतियोगिता नै आयोजना हुन्थ्यो। ‘त्यो बेला नेपालमा बास्केटबल संघ नै थिएन। काठमाडाैंमा पनि धरानबाट उच्च शिक्षा पढ्न गएकाहरूले खेल्थे,’ जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले भने,‘धरानमा त वडास्तरीय प्रतियोगिता हुन्थ्यो, खेल हेर्न दर्शकको घुइँचो लाग्थ्यो।’

चालीसको दशक धरानको बास्केटबलका लागि स्वर्णिम काल थियो। त्यस समय विनोद श्रेष्ठ, प्रभात श्रेष्ठ, सुजन श्रेष्ठ, कुवेर श्रेष्ठ, कृष्ण राई, सुरज लामा, सुनिल शंकर, शंकरमान श्रेष्ठ, निर्मल श्रेष्ठलगायत खेलाडी बास्केटबलमा जमेका थिए। उनीहरू नै प्रतियोगिता खेल्ने धरानका पहिलो ब्याच हुन्।

व्यावसायिकताको खाँचो

कुनै समयका सफल खेलाडी विकास राई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सुनसरी जिल्लाका सहायक प्रशिक्षक छन्। राखेपबाट प्रदेश १ मा नियुक्त भएका प्रशिक्षक उनी मात्र हुन्। उनीसँगैका खेलाडीहरूले बास्केटबल खेलेपछिको जीवनमा प्रशिक्षककोे भूमिका निर्वाह गर्ने अवसर पाएनन्। ‘अब बिस्तारै बास्केटबल पनि व्यावसायिक हुँदै छ, निरन्तरता दिने खेलाडीले जिम्मेवारी पनि पाउँदै छन्,’ प्रशिक्षक राई भन्छन्,‘निजी कलेज, स्कुलमा कोचको खाँचो छ, माग पनि हुन थालेको छ।’

प्रशिक्षक राईका अनुसार अहिले पनि दर्जनभन्दा बढी स्कुलमा युवा खेलाडी प्रशिक्षकका रूपमा जागिरे छन्। बिपी प्रतिष्ठानमा एमबिबिएसका खेलाडीहरूले प्रतियोगिता हुँदा खेलाडीलाई शुल्क तिरेर प्रशिक्षण लिने गरेका छन्। ‘खेलकुदको कर्यक्रम बढेपछि र बास्केटबलप्रतिको क्रेजले निजी विद्यालयले खेल शिक्षक राख्न थालेका छन्, यसले खेलबाट आत्मनिर्भर हुन पनि मद्दत पुगेको छ,’ उनले थपे।

प्रकाशित: १२ श्रावण २०७६ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App