१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

श्रीलंकाको झीनो सम्भावना

लन्डन – विश्वकप क्रिकेटअन्तर्गत सोमबार वेस्टइन्डिज र श्रीलंका आमनेसामने हुँदै छन्। वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिसकेको छ भने श्रीलंका पनि अघिल्लो चरण प्रवेशमा झीनो सम्भावना लिएर खेल्दै छ। त्यसैले श्रीलंका वेस्ट इन्डिजलाई निराश पार्दै शीर्ष ४ को गणितीय सम्भावना कायम राख्न चाहन्छ।

पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध १० विकेटको फराकिलो हारका लागि प्रतियोगितामा खराब सुरुआत गरेको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको थियो। त्यसपछि पाकिस्तान र बंगलादेशविरुद्धका खेल वर्षाका कारण रद्द भएका थिए। श्रीलंकाले अस्ट्रेलियालाई समेत नतिजा सुम्पिएको थियो। आयोजक इङ्ल्यान्डलाई हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना ब्यँुताएको श्रीलंका पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

जारी प्रतियोगितामा श्रीलंकाका शीर्ष क्रमका ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्। सुरुआती खेलमा ओपनर तथा कप्तान दिमुथ करुणारत्नेले श्रीलंकाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। श्रीलंकाका भरपर्दा ब्याट्सम्यान एन्जेलो म्याथ्युजले एक खेलमा मात्र अर्धशतक पूर गरेका छन्। श्रीलंकाले हात पारेको दुवै खेलमा बलिङ हाबी बनेको थियो। जसको मोर्चा तीव्र गतिका बलर लासिथ मालिंगाले सम्हालेका थिए। त्यसैले वेस्ट इन्डिजविरुद्ध पनि मालिंगाको योर्कर जादु कायम रहनेमा श्रीलंका आशावादी छ।

यता प्रतियोगिताबाट बाहिरिसकेको वेस्ट इन्डिजका लागि प्रतियोगितामा बाँकी खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। त्यसैले वेस्ट इन्डिज श्रीलंकाविरुद्धको खेलमा जित हात पार्न चाहन्छ। पहिलो खेलमा पाकिस्तानमाथि रबाफिलो जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको वेस्ट इन्डिजले त्यसपछिका खेलहरूमा भने सुखद नतिजा ल्याउन सकिरहेको छैन। वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध वर्षाले खेल रद्द बन्दा १ अंक जोडेको थियो।

अन्य खेलमा वेस्ट इन्डिजले अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, इङ्ल्यान्ड र बंगलादेशलाई नतिजा सुम्पिएको थियो। वेस्ट इन्डिजका पनि आशा गरिएका खेलाडी उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन्। ब्याटिङमा गेललाई  इर्बिन लुइस, साई होप सिमोन हेटमायरले साथ दिनेछन् भने बलिङ आक्रमण कप्तान जेसन होल्डर, ओसामाने थोमस र किमार रोच र सेल्डोन कोट्रेले सम्हाल्नेछन्। श्रीलंका ७ खेलमा ६ अंकका साथ सातांै स्थानमा छ भने वेस्ट इन्डिज ३ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: १६ असार २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App