१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बंगलादेशसँग अस्ट्रेलिया सजक

लन्डन – वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको बंगलादेशले बिहीबार साबिकको विजेता अस्ट्रेलियाको सामना गर्दै छ। वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै उच्च मनोबल बटुलेको बंगलादेश अस्ट्रेलियाविरुद्ध पनि सोही सफलता दोहो-याउने लक्ष्यमा हुनेछ भने अस्ट्रेलिया सहज जितका साथ शीर्ष ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

जारी विश्वकपका सम्पन्न पाँच खेलमध्ये दुईमा जित र दुई खेलमा हार व्यहोरेको बंगलादेशले वर्षा बाधक बनेपछि श्रीलंकासँग भने अंक बाँड्यो। बंगलादेश ५ अंकका साथ पाँचांै स्थानमा छ। त्यसैले अघिल्लो चरणको यात्रालाई सहज बनाउन लागि बंगलादेश कठिन प्रतिद्वन्द्वी अस्टे«लियासँग सतर्क भएर मैदान उत्रिनेछ।

वेस्ट इन्डिजविरुद्ध शानदार ब्याटिङ गर्दै जिम्मेवारी इनिङका साथ ऐतिहासिक जित निकाल्न योगदान गरेका सकिब अल हसनलाई अस्ट्रेलियाविरुद्ध पनि लय निरन्तरता दिन उत्तिकै चुनौती रहनेछ। अस्ट्रेलियाका तीव्र गतिको बलिङ सकिबको लागि निकै चुनौती हुनेछ। अस्ट्रेलियाका बलर मिचेल स्टार्क, प्याट कमिन्स, दुई खेल मात्र खेलेका केन रिचर्डसनजस्ता बलरको सामना गर्नु बंगलादेशका लागि कठिन हुनेछ।

जारी विश्वकपमा स्टार्क सर्वाधिक विकेट लिने बलरको सूचीमा पाकिस्तानका मोहम्मद आमिरसँगै शीर्ष स्थानमा छन्। दुवैले समान १३ विकेट लिएका छन्। अस्ट्रेलियासामु किफायती बलिङ गर्नु पनि बंगलादेशका लागि अर्को कठिन अवस्था हुनसक्छ। लयमा रहेका अस्ट्रेलियाका ब्याट्सम्यान एरोन फिन्च, डेविड वार्नर, स्टेभन स्मिथ र ग्लेन म्याक्सवेलजस्ता खेलाडीलाई रोक्न बंगलादेशी बलरले निकै संघर्ष गर्नुपर्नेछ।

फिन्च जारी विश्वकपको सबै धेरै रन बनाउने सूचीमा तेस्रो, वार्नर पाँचौं र स्मिथ साता स्थानमा छन्। जित निकाल्नका लागि बंगलादेशका बलरलाई यी खेलाडीसामु संयमित भएर खेल्नुपर्नेछ। जारी विश्वकपमा कठिन प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले हराउँदै सुखद सुरुआत गरेको बंगलादेशले दोस्रो खेलमा न्युजिल्यान्डलाई चुनौती दिए पनि २ विकेटको नतिजा सुम्पिएको थियो।

तेस्रो खेलमा इङ्ल्यान्डसँग १ सय ६ रनले पराजित बंगलादेश चौथो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो। तर, बंगलादेशले पाँचौं खेलमा वेस्ट इन्डिजमाथि ७ विकेटको शानदार जित निकालेको थियो। बंगलादेशले जस्तै पाँच खेल खेलेको अस्ट्रेलिया जितको मनस्थितिमा रहनेछ। चार जित र एक खेलमा नतिजा सुम्पिएको अस्ट्रेलियाले भारतसँग बाहेक अन्य सबै खेलमा जित निकालेको छ।

अघिल्लो संस्करणको सेमिफाइलनमा भारतलाई हराएर फाइनल प्रवेश गरेको साबिकको विजेता अस्ट्रेलिया जारी विश्वकपको तेस्रो खेलमा भने भारतसँगै ३६ रनले स्तब्ध भएको थियो। अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेट, दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रन, पाकिस्तानलाई ४१ रन र चौथो खेलमा श्रीलंकालाई ८७ रनले पराजित गरेको थियो। अस्ट्रेलिया ८ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ।

अहिलेसम्म विश्वकप इतिहासमा अस्ट्रेलिया र बंगलादेश तीन पटक आमनेसामने भएका छन्। तीन खेलमध्ये दुई खेलमा अस्ट्रेलियाले बाजी मारेको छ भने एक खेल रद्ध भएको छ। अस्ट्रेलियाले सन् २००७ मा १० विकेट तथा १९९९ को संस्करणमा ७ विकेटले जित निकालेको थियो। सन् २०१५ को भेटमा भने खेल हुनु पूर्व नै वर्षा भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै उच्च मनोबल बटुलेको बंगलादेश अस्ट्रेलियाविरुद्ध पनि सोही सफलता दोहो-याउने लक्ष्यमा हुनेछ भने अस्ट्रेलिया सहज जितका साथ शीर्ष ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

प्रकाशित: ५ असार २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App