२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मौसमले उपाधि रक्षामा प्रभाव पार्दैनः फिन्च

लन्डन– साबिक विजेता अस्ट्रेलियाका कप्तान एरोन फिन्चले टोलीको विश्वकप उपाधि रक्षा अभियानमा खराब मौसमले कुनै प्रभाव नपार्ने विश्वास व्यक्त गरेका छन्।

भारी वर्षाका कारण इङ्ल्यान्डमा जारी विश्वकमा हालसम्म तीन खेल रद्द भइसकेका छन्। अस्ट्रेलियाले चौथो खेलमा बुधबार पाकिस्तानको सामना गर्दै छ। फिन्चले उक्त खेलमा मौसम कस्तो रहने भन्नेमा भने उत्सुक रहेको बताएका छन्।

पाकिस्तान वर्षाकै कारण शुक्रबार श्रीलंकाविरुद्धको खेलमा अंक बाँड्न बाध्य भएको थियो। त्यस्तै सोमबार भएको दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि वर्षाकै कारण रद्द गरिएको थियो। दक्षिण अफ्रिका ७.२ ओभरमा २९–२ को स्थितिमा ब्याटिङ गरिरहँदा सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द गर्र्दै दुवै टोलीले समान १ अंक बाँडेका थिए।

बुधबार टाउनटनमा हुने खेलमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। फिन्चले एउटा खेल वर्षाका कारण रद्द भए पनि त्यसले सेमिफाइनल लक्ष्यमा असर नपर्ने बताएका हुन्। १० टोलीमध्ये प्रतियोगिताका शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

‘मौसमले अबको केही दिनका खेलमा प्रभाव पार्ने प्रबल सम्भावना छ, फिन्चले भने, ‘अर्को साताबाट भने मोैसममा सुधार हुनेछ। त्यस कारण प्रतियोगिता पूरै प्रभावित हुने सम्भावना न्यून छ। त्यसैले सुरुआती खेलहरूमै अंक जोड्दै शीर्ष ४ को होडमा बस्नु आवश्यक छ। हामी सबै खेल जित्न चाहन्छौ। हामी वर्षाका कारण रद्द भएका खेल टोली प्रतियोगिताबाट बाहिरिनुको प्रमुख कारण बनोस् भन्ने चाहँदैनाैं।’

२०१७ मा इङ्ल्यान्डमै सम्पन्न च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र बंगलादेशविरुद्धको खेल वर्षाका कारण रद्द हुनुका साथै इङ्ल्यान्डसँग डर्कवर्थ लुइस पद्धतिमा गुमाएसँगै अस्ट्रेलिया सेमिफाइनल प्रवेशबाट वञ्चित बनेको थियो।

फिन्चले पाकिस्तान बलियो टोली भएकाले सम्हालिएको प्रदर्शन गर्ने समेत बताए। पहिलो खेलमा वेस्ट इन्डिजसँग निराश भएको पाकिस्तानले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै आयोजक इङ्ल्यान्डलाई निराश पारेको थियो। यद्यपि पाकिस्तानले पछिल्लो १४ एकदिवसीय खेलमा मात्र १ खेलमा सुखद नतिजा ल्याएको छ।

‘पाकिस्तान प्रतियोगिताकै दाबेदार टोली हो,’ फिन्चले भने, ‘उनीहरूले आइसिसीको प्रतियोगितामा सधैं उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। पाकिस्तानले २०१७ मा यही च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। त्यसैले सतर्क भएर खेल्न आवश्यक छ।

पाकिस्तानले २०१७ को च्याम्पियन्स ट्रफीको पहिलो खेलमा भारतलाई नतिजा सुम्पिएको थियो। तर पाकिस्तानले अन्तत फाइनलमा भारतलाई नै निराश पार्दै विजेता बनेको थियो।

भारी वर्षाका कारण इङ्ल्यान्डमा जारी विश्वकमा हालसम्म तीन खेल रद्द भइसकेका छन्।

 

प्रकाशित: २९ जेष्ठ २०७६ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App