२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री क्रिकेट कपः पुलिस सेमीफाइनलमा

काठमाडाैं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई पराजित गरी पुलिस समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २५३ रन बनायो। दुई सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले २९ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन मात्र बनायो।

प्रदेश २ का लागि हरिशङ्कर साहले सर्वाधिक २९ रन जोडे । कप्तान मेहबुब आलमले २१, रवी साहले १५ तथा सुरज पटेलले १२ रन बनाए। बलिङ्तर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए। उनले १० ओभरमा एक मेडन राख्दै २८ रन खर्चे। ललितनारायण राजवंशीले तीन विकेट झारे।

त्यसअघि पुलिसका लागि ब्याटिङ गर्दै अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए। सुनिल धमलाले ४३, अनिलकुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए। बलिङतर्फ प्रदेश २ का सम्शाद शेखले चार तथा राशिद खानले दुई तथा दिव्यान्सु मल्लिक, कुमार थापा र मेहबुब आलमले एक÷एक विकेट लिए। हारसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७६ १४:१६ आइतबार

क्रिकेट प्रधानमन्त्री_कप नेपाल_पुलिस_क्लब सेमीफाइनल