१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सुपर एजेन्टमाथिको प्रतिबन्ध बढ्यो

पेरिस – फुटबलमा सुपर एजेन्ट नामले परिचित मिनो राइओलालाई इटालियन फुटबलको प्रतिबन्धसँगै विश्व फुटबल महासंघ (फिफा) ले विश्वव्यापी रूपमै उनीमाथि प्रतिबन्ध बढाएको छ।म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, मार्सेलका मारियो बालाटेली, युभेन्ट्सका युवा गोलकिपर मोइस किन र ज्लाटान इब्राहिमोभिचजस्ता स्टार फुटबलरका एजेन्टसमेत रहेका राइओलाई फिफाको अनुशासन कमिटीले तीन महिनाको प्रतिबन्ध लगाएको हो। यसअघि बुधबार नै इटालियन फुटबल संघले पनि राइओलामाथि प्रतिबन्ध लगाएको थियो। तर, शुक्रबार फिफाले विज्ञप्ति जारी गर्दै उक्त प्रतिबन्धलाई विश्वव्यापी रूपमा बढाएको हो।

‘इटालियन फुटबल संघको प्रस्तावअनुसार फिफाको अनुशासन कमिटीले उनको प्रतिबन्ध विश्वव्यापी रूपमा लागू हुने निर्णय गरेको छ,’ फिफाको विज्ञप्तिमा उल्लेख छ। यद्यपि, फुटबल संघले राइओलामाथिको प्रतिबन्धका कारण भने उल्लेख गरेका छैन। यता, प्रतिबन्धसँगै राइओलाले पनि आफू कानुनको सहारामा पुग्ने बताएका छन्। उनले इटालियन फुटबल संघको गलत कार्यको आलोचनाको परिणामस्वरूप प्रतिबन्ध लगाइएको दाबी गरेका छन्।

संघले सम्झौता भंग गरेपछि आफूले गरेको आलोचनाका कारण प्रतिबन्ध लगाएको उल्लेख गर्दै कानुनी बाटोतर्फ लाग्ने बताएका छन्।  इटालियन फुबटल संघले उनीसँगै उनका आफन्त भिन्सेन्जो राइओलालाई  समेत तीन महिना प्रतिबन्ध लगाए पनि कारण भने उल्लेख गरेको छैन। भिन्सेन्जो पनि एजेन्ट हुन्। इटालीका क्लबहरूसँग राम्रो व्यवसाय गर्दै आएका यी दुईको प्रतिबन्ध आगामी समरको ट्रान्सफर विन्डोसम्म लागू हुनेछ । ५१ वर्षे राइओलाले इटालियन फुटबल संघको प्रतिबन्धप्रति आश्चर्य नभएको समेत उल्लेख गरेका छन्।

उनले त्यसलाई दुर्भाग्यको संज्ञा दिएका छन्। उनले आफू न्यायका लागि सबै ठाउँमा जाने बताएका छन्। ‘कानुनभित्र रहेर सबैलाई बोल्ने अधिकार हुन्छ,’ राइओलाले भने,‘बोल्दा अन्यायमा परिन्छ भने न्यायको बाटो खोज्नुपर्छ। उनले आफू विश्वव्यापीभन्दा इटालियन फुटबलमा काम गर्न सदैव उत्साहित हुने बताएका छन्। पोग्बा यस सिजनको समर रियाल मड्रिड जाने चर्चा चलिरहँदा प्रतिबन्धले राइओलामाथि ठूलो नोक्सानी हुने भएको छ।

 

प्रकाशित: २९ वैशाख २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App