१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चैत २५ देखि राजर्षि जनक कप

राजर्षि जनककपको प्रथम सिल्डसहित प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै आयोजक समितिका पदाधिकारी । तस्बिर: टंक/नागरिक

सर्लाही– आगामी चैत २५ गतेदेखि राजर्षि जनक कप फुटबलको तेस्रो संस्करण हुने भएको छ। आयोजक बागमती युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक गरेको छ।

प्रतियोगितामा दुई विभागीय एवं एक विदेशी टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, एपिएफ क्लब, रुस्लान थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युवा क्लब, फ्रेन्ड्स क्लब, झापा–११, वीरगन्ज युनाइटेडजस्ता चर्चित क्लबसहित भुटानको पारो फुटबल क्लब, आयोजक बागमती युवा क्लब र बागमती नगरपालिका कार्यालय टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

वैशाख ६ गते हुने फाइनलमा प्रथम हुने टोलीले १० लाख नगदसहित पूर्व संविधानसभा सदस्य नरेन्द्र साहद्वारा प्रायोजित सुन र चाँदी प्रयोग गरेर ४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको २० किलोको कलात्मक सिल्ड चुम्न पाउनेछ। ७५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताअन्तर्गत हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा हरेक दिनको म्याद अफ दी म्याच घोषित खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बागमती राइजिङ अफ दी इयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता हेर्नका लागि दर्शकबाट प्रतिखेल सय रुपैयाँ तथा सेमिफाइनल एवं फाइनल खेलमा भने २०० रुपैयाँ टिकट दर तोकिएको आयोजकले जनाएको छ। अध्यक्ष मैनालीका अनुसार दर्शक बस्नका लागि फलाम र बाँसको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश नं. २ कै सबैभन्दा ठूलो फूटबल प्रतियोगिता सफल रूपले सम्पन्न गर्नका लागि बागमती नगरपालिकासहित स्थानीय तहहरू, विभिन्न गैरसरकारी संघसंस्था, उद्योगी व्यापारीसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसहरूले प्रायोजनसमेत गरेको आयोजक समितिका संयोजक दीपक लामाले जानकारी दिए। प्रतियोगिताको पहिलो संस्करणको उपाधि भने मनाङ मस्र्याङ्दी क्लबले चुमेको थियो।

यस वर्ष प्रतियोगिता सुरक्षित रूपले सम्पन्न गर्नका लागि खेल मैदानलाई फलामे तारबारले घेराबेरा गरिएको संयोजक लामाले जानकारी दिए। ‘दर्शकहरू बस्ने स्थानभन्दा भित्र नै फलामे तारबारले घेराबेरा गरिएको छ’, लामाले भने, ‘घेराबेराभित्र खेल अवधिभर खेलाडी, अफिसियल र निर्णायकबाहेक कोही पनि छिर्न सक्ने छैनन्।’ गत वर्ष नेपाल आर्मी र सुदूरपश्चिम–११ बीच भएको फाइनल प्रतिस्पर्धाअन्तर्गत खेलअवधिभित्रै दर्शकहरू मैदानमा छिरेर खेलाडीमाथि कुटपिट गरेपछि दुई दिनसम्म खेल स्थगित गर्नुपरेको थियो। प्रतियोगितास्थलको सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनसँगको समन्वयमा पर्याप्त सुरक्षाकर्मीसहित स्वयंसेवक समेत परिचालन गरिने उनले बताए। पत्रकार सम्मेलनमा बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तान लगायतको उपस्थिति थियो। 

 

प्रकाशित: २२ चैत्र २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App