५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

वेलिङ्टन – निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

पहिलो दुई दिन वर्षाले प्रभावित टेस्टमा वाग्नरले सट बलमार्फत बंगलादेशका पाँच ब्याट्सम्यानलाई सिकार बनाउँदै न्युज्यिलान्डलाई सफलता दिलाए। यसअघि पहिलो टेस्टमा पनि वाग्नरले पाँच विकेट लिँदा न्युजिल्यान्डले इनिङ र ५२ रनले जित निकालेको थियो। किफायती बलिङ गर्ने क्रममा ४५ रन मात्र खर्चिंदै वाग्नरले पाँच विकेट लिएपछि बंगलादेश २ सय ९ रनमै खुम्चियो। 

कप्तान महमुदुल्लाह रियादले सर्वाधिक ६७ रनको योगदान दिँदा मोहम्मद मिथुनले ४७ रन बनाउँदै बंगलादेशको इनिङ जोगाउने प्रयास गरे। वाग्नरकै बलमा आउट भएका महमुदुल्लाहले १२ चौका र एक छक्का तथा मिथुनले ७ चौका प्रहार गरे। न्युजिल्यान्डका तीव्र गतिका बलरसामु बंगलादेशका अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। 

वाग्नरसँगै टेस्ट बोल्टले चार तथा म्याट हेनरीले एक विकेट लिँदै बंगलादेशको इनिङ धराशयी पारेका थिए। बंगलादेशले तीन विकेटको क्षतिमा ८० रन हुँदा पाँचौं दिनको सुरुआत गरेको थियो। तर, अन्तिम दिनको खेलमा बोल्टले सौम्य सरकारलाई २८ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए। 

वाग्नरले पनि समालिएर ब्याटिङ गरिरहेका मिथुनलाई आउट गर्दै बोल्टलाई साथ दिए। त्यसपछि ब्याटिङमा आएका लिटन दासलाई पनि १ रनमै आउट गर्दै वाग्नरले न्युजिल्यान्डलाई छैटौं विकेट दिलाए। त्यसपछि पनि वाग्नरको आक्रमण रोकिएन। 

उनले नै तैजुल इस्लामलाई खाता नखोल्दै आउट गरेपछि न्युजिल्यान्डको फराकिलो जित पक्का बन्यो। अन्य ब्याट्सम्यान पनि तीव्र गतिको बलिङमा समालिन सकेनन्। बोल्टले नै मुस्ताफिजुर रहमानलाई १६ रनमा क्लिन बोल्ड गरे। इबादत हुसेन पनि हुक सट प्रहार गर्ने चक्करमा खाता नखोल्दै आउट भएपछि बंगलादेशको अन्तिम विकेट पतन भयो। 

त्यसअघि रोस टेलरले दोहोरो शतक बनाउँदा हेनरी निकोलसले शतकको योगदान दिएपछि न्युजिल्यान्डले ६ विकेट गुमाउँदा ४ सय ३२ रनमा इनिङ समाप्तिको घोषणा गर्याे। टेलरले १९ चौका र चार छक्काको मद्दतमा २ सय रन बनाए। निकोलसले १ सय ७ रन जोड्दा ९ चौका प्रहार गरे। 

केन विलियम्सनले ११ चौका र एक छक्काको सहयोगमा ७४ रनको योगदान दिँदा न्युजिल्यान्डले विशाल स्कोर खडा गर्याे। तर, दुई इनिङको खेलमा पनि बंगलादेश लक्ष्य पूरा गर्न सकेन। उक्त खेलमा न्युजिल्यान्डका कप्तान विलियम्सन र बिजे वाट्लिङले चोट बोकेपछि अन्तिम टेस्ट गुमाउन सक्नेछन्। न्युजिल्यान्डले अन्तिम टेस्ट शनिबार क्राइस्टचर्चमा खेल्नेछ। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ००:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App