१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आत्मविश्वासको अघि उमेर बाधक बन्दैन

काठमाडौं – बिहीबार ललितपुरस्थित लाबिम मलमा चौथो अन्तरक्लब महिला स्क्वाट् प्रतियोगिताको अन्तिम चरणको खेल आयोजना भैरहेको थियो। प्रतियोगिताको सुरुआतमा कार्यक्रम सञ्चालिका सुवेच्छा खड्काले  सहभागी ६० केजीमुनी तौलसमूह र ६० केजीमाथि तौल समूहका प्रतिस्पर्धीलाई स्टेजमा बोलाइन्। यसैक्रममा उनले ६० केजी मुनी तौलसमूहमा जिमखाना एन्ड मुवाँथाईबाट प्रतिस्पर्धा गरिरहेकी रोइसेन राईको नाम लिइन्। 

रोइसेन स्टेजतर्फ अघि बढी रहँदा खड्काले उनको उमेर मात्र भएको १४ वर्ष सुनाइन्। यससँगै प्रतियोगिता हेर्न उपस्थित भएका मानिसहरुमध्ये केहिले सानै उमेरमा रोइसेनलाई कसले प्रतियोगितामा सहभागिता गराएको भन्दै विभिन्न टीकाटिप्पणी गर्न थाले।

ज्यास्मिन फिटनेस एन्ड स्पा र आइडिया सप नेपालले संयुक्त रूपमा महिला दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा रोइसेनले बुधबारको पहिलो चरणको पहिलो प्रयासमा २० केजी, दोस्रो प्रयासमा ३० र तेस्रो पटक ४० केजी उठाउँदै अन्तिम चरणमा स्थान बनाएकी थिइन्। बिहीबारको फाइनलमा पनि रोइसेन प्रतिस्पर्धाका लागि स्टेजमा पुगिन्।

उनले पहिलो प्रयासमा ८० केजी तौल उठाइन्। तब उनको नाम र उमेर घोषणा हुँदा विभिन्न टीकाटिप्पणी गर्ने मानिस उनको समर्थनमा अघि बढे। त्यससँगै सानो उमेर भन्दै उनको क्षमताप्रति शंका गर्नेलाई पनि रोइसेनले प्रदर्शनबाटै शान्त पारिन्। दोस्रो प्रयासमा ८५ केजी र अन्तिम प्रयासमा ९० केजी तौल उठाउँदै रोइसेनले खेल हेर्न उपस्थित मानिसका साथै अन्य प्रतिस्पर्धीको समेत मन जित्न सफल भइन्।

यो प्रतियोगिता महिला सशक्तिकरणका लागि चालिएको एक कदम हो। म त्यसको एक सदस्य बन्न पाउँदा हर्षित छु। पहिलो सहभागिताको तीनै प्रयासमा सफल हुनु नै मेरा उपाधिभन्दा ठूलो सफलता हो ’ १४ वर्षीया रोइसेन

रोइसेनले स्क्वाट प्रतियोगितामा सहभागिता जनाएको यो पहिलो पटक हो। गत वर्ष नै यस प्रतियोगिताको बारेमा सुने पनि उनले अन्तिम समयमा आएर मात्र प्रतियोगितामा सहभागि हुने निर्णय गरेकी थिइन्।

‘मैले स्क्वाट खेल्न थालेको मात्र एक वर्ष भयो,’सानेपास्थित दी ब्रिटिस स्कुलमा कक्षा १० मा अध्ययनरत राइेसेनले भनिन्, ‘गत वर्ष मैले प्रतियोगिताको बारेमा सुन्दा कुनै दिन प्रतियोगितामा सहभागी हुन्छु भन्ने सोचेको थिए। तर यति छिट्टै प्रतियोगितामा सहभागि भैहाल्छु भन्ने सोचेको थिइन।’

‘म विगत एक वर्षबाट दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नियमित स्क्वाटमा बिताउँछु,’रोइसेनले थपिन्, ‘करिब २ महिना अघि गुरुले स्क्वाट प्रतियोगितामा सहभागी हुन प्रस्ताव गर्नुभयो। मैले यस प्रतियोगितालाई आफ्नो क्षमता थाहा पाउने अवसरको रूपमा हेरेको थिए।’

‘मभन्दा सिनियर दिदीहरूलाई देख्दा उहाँहरूजस्तै तौल उठाउन नसके पनि म मानसिक रूपमा आफ्नो तयारीअनुसारको तौल उठाउँछु भन्नेमा विश्वस्त थिए,’प्रतियोगिताको पहिलो चरणमा सहभागिता जनाउँदाको क्षण सम्झँदै राइसेनले भनिन्, ‘म पूर्ण रूपमा सफल भए।’

यो प्रतियोगिता महिला सशक्तिकरणका लागि चालिएको एक कदम हो र म त्यसको एक सदस्य बन्न पाउँदा हर्षित भएको भन्दै रोइसेनले पहिलो सहभागिताको तीनै प्रयासमा सफल हुनु नै आफ्ना लागि उपाधिभन्दा ठूलो सफलता मिलेको विश्वास व्यक्त गरिन्।

‘महिला र पुरुष दुवैका लागि शारीरिक व्यायाम आवश्यक छ,’रोइसेनले थपिन्, ‘यस्ता प्रतियोगिताले महिलाको हौसला बढाउँछ।’ रोइसेनले पहिलो सहभागितामा सफल भएको भन्दै स्क्वाटलाई निरन्तरता दिने बताइन्।

आत्मविश्वासको अघि उमेर बाधक बन्दैन
प्रतियोगितामा ४८ वर्षिया चम्पा बलामी र ४४ वर्षिया चाँदनी लामा पनि सहभागी थिए। तर उनीहरुको जोस भने अन्य प्रतियोगी सरह नै थियो।

‘मैले सोमबार मात्र प्रतियोगितामा सहभागी जनाउने निर्णय गरेको थिए,’चम्पाले भनिन्, ‘यस खेलमा गत संस्करणमा पनि सहभागिता जनाउने सोच बनाए पनि ढाडको समस्याका कारण प्रतियोगितामा सहभागी पाइन। यसपटक प्रतियोगितामा सहभागि हुँदै आफ्नो क्षमता प्रमाणित गर्न पाउँदा खुशी छु।’

‘कुनै पनि काममा मनदेखि लाग्यो भने त्यसमा उमेर बाधक बन्दैन, ’चम्पाले थपिन्, ‘अन्तिम चरणको पहिलो प्रयासमा ९० केजी तौल उठाउँदा हाफ स्क्वाट भएपछि भने म केही आत्तिएको थिए। तर दोस्रो प्रयासमा पुन ९० केजी उठाउँदा हौसला बढ्यो। अन्तिम प्रयास आफूलाई प्रमाणित गर्ने अवसर थियो। जसमा म ९५ केजी तौल उठाउन सफल भए।’

चम्पाले प्रतियोगिताले महिलाहरुमा हौसला बढाएको भन्दै आगामी दिनमा पनि स्क्वाटलाई निरन्तरता दिनुपर्ने बताइन्। काठमाडौं फिटनेसकी चाँदनीले पनि आत्मविश्वासको अघि उमेर बाधक नबन्ने बताइन्। ‘म प्रतियोगिताको उपाधि जित्नभन्दा पनि आफ्नो क्षमता थाहा पाउन र महिला सशक्तिकरणमा समर्थन जनाउन प्रतियोगितामा सहभागी भएको थिए,’चाँदनीले भनिन्।

महिलालाई हौसलाको खाँचो 
पोखरा रानीपौवा स्पोटर्स क्लबकी ज्योती थापाले प्रतियोगितामा सहभागिता जनाएको यो लगातार तेस्रो पटक हो। पहिलो सहभागितामा सोचेअनुरूप सफलता हात पार्न नसके पनि ज्योती ६० केजीमुनी तौल समूहमा तेस्रो स्थान भएकी थिइन्, सोही सफलतालाई यसपटक पनि ज्योतीले दोहोर्याइन्। 

यसपटक पहिलो प्रयासमा ९० केजी तौल उठाउँदा हाफ स्क्वाट, दोस्रो प्रयासमा पुनः ९० केजी र अन्तिम प्रयासमा सय केजी तौल उठाउँदै ज्योतीले तेस्रो स्थान पक्का गरेकी थिइन्।

‘अझै पनि महिलाहरूमा जिम पुरुषका लागि मात्र हो भन्ने धारणा छ,’ज्योतीले भनिन्, ‘महिलाहरु अझै खुलेर यस्ता खेलमा आउन सकेका छैनन्। यो प्रतियोगिताले महिलालाई आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्रदान गर्छ। शारीरिक व्यायाम महिलाहरूका लागि पनि महत्वपूर्ण छ भन्ने जनचेतना बढेको छ।

अन्य खेलमा लाग्दा पनि स्वस्थ हुन आवश्यक छ।समग्र जीवनकै लागि स्क्वाट उपयोगी छ। यो एक व्यायाम  हो, तर जो–कोहीले गर्छु भन्दैमा सक्ने होइन। यसका लागि राम्रो मिहिनेतका साथै स्वस्थ खानपिन र आराममा समेत ध्यान दिन आवश्यक छ।’

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App