२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले बनायो ३ नयाँ कीर्तिमान

काठमाडौं – अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अफगानिस्तानले ३ नयाँ कीर्तिमान बनाएको छ। शनिबार राति सम्पन्न आयरल्याण्डसँगको तीन खेलको सिरिजमा २–० को अग्रता लिदै अफगानिस्तानले एक खेल अगावै शृंखला जित्यो।

दोस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले पराजित गर्दै केही कीर्तिमान बनायो। भारतको देहरादुनस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ३ विकेटको क्षतिमा २७८ रन बनाएको थियो।

यो टी–२० क्रिकेटको अहिलेसम्मकै सर्वाधिक स्कोर हो। यसअघि यो कीर्तिमान अष्ट्रेलियाको नाममा थियो। अष्ट्रेलियाले ६ सेप्टेम्बर २०१६ मा श्रीलंकाविरुद्ध २० ओभरमा ३ विकेट गुमाई २६३ रन बनाएको थियो।

अफगानिस्तानका लागि हज्रतुल्लाह जाजाई र उस्मान घानीले पहिलो विकेटका लागि २ सय ३६ रनको साझेदारी गरेका थिए। यो पनि कुनैपनि ओपनिङ ब्याट्सम्यानले पहिलो विकेटका लागि बनाएको सर्वाधिक ठूलो स्कोर हो।

यसअघि यो कीर्तिमान जिम्बाबेविरुद्ध अष्ट्रेलियाका आरोन फिन्च र डिआर्कीको नाममा थियो। उनीहरूले पहिलो विकेटका लागि २२३ रनको साझेदारी गरेका थिए। जाजाईले नटआउट १ सय ६२ रन बनाएका थिए। उनले आक्रामक ब्याटिङ गर्ने क्रममा ६२ बलमा ११ चौका र १६ छक्काको सहयोगमा अविजित १६२ रनको सानदार पारी खेलेका थिए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जाजाईले बनाएको रन सर्वाधिक दोस्रो ठुलो स्कोर हो। सर्वाधिक रनको स्कोर भने अष्ट्रेलियाका आरोन फिन्चको नाममा रहेको छ। फिन्चले जिम्बाबेविरुद्ध १ सय ७२ रन बनाएका थिए। वेष्ट इन्डिजका क्रिस गेलले २०१३ को आइपिएल क्रिकेटमा १७५ रनको नटआउट पारी खेलेका थिए। यद्यपी त्यो स्कोर अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्दैन्।

जाजाई एकै खेलमा १६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। कुनै पनि फ्रम्यार्टमा १६ छक्का प्रहार गर्ने जाजाई पहिलो खेलाडी हुन्।

यता, अफगानिस्तानको जितमा घानीले ७३ रन बनाए। उनले ४८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। मोहम्मद नाविद १७ रनमा आउट भए। आयरल्याण्डका लागि जोस लिटल, बोयड रंकीन र पिटर चेसले एक–एक विकेट लिए। २७९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १९४ रनमात्र बनाउन सक्यो।

आयारल्याण्डका कप्तान पाउल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो विकेटका लागि ११.५ ओभरमा १२६ रनको साझेदारी गरेपनि टोलीलाई जिताउन सकेनन्।  स्टर्लिङ ५० बलमा १२ चौंका र २ छक्काको सहायतामा ९० रनमा आउट हुँदा ओब्रायन ३७ रनमा पवेलियम फर्किए। तर, त्यसपछिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

शेन गेटकेट २४,स्टुअर्ट पोयन्टर १५ र सिमी सिंह १७ रनमा अविजित रहे। अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन् सकेनन्। अफगानिस्तानका लागि रशिद खानले ४ ओभर २५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै मुजिव उर रहमान र फरिद मालिकले समान एक–एक विकेट लिए। तेस्रो टी–२० खेल आइतबार हुने छ। पहिलो खेलमा अफगानिस्तान ४ रनले विजयी भएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७५ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App