काठमाडौं – विश्व बडिबिल्डिङका हस्ती रोली विङ्कलार बिहीबार नेपाल आउने भएका छन्।
नेपाली खेलकुदमा पहिलोपल्ट आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को गेस्ट पोजरका रूपमा रोली आज दिउँसो ४ बजेर १० मिनेटमा नेपाल आउँदै छन्।
बुधबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबिबी लिग नेपालका अध्यक्ष सानु गुरुङले रोली इतिहाद एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिए। रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन्।
उनको हातको पाखुरा मात्र २४ इन्च, छाती ६० र थाई ४८ इन्चको छ। सोसल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन्। रोली यो वर्ष पहिलोपल्ट नेपालमा देखा पर्न लागेका हुन्। उनी वर्षमा १–२ पल्ट मात्र प्रतियोगिताको अवसरमा सार्वजनिक रूपमा देखा पर्छन्।
नेपालमा उनी आइएफबिबी प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेस्ट पोजर’ को रूपमा देखा पर्न लागेका हुन्। प्रतियोगितामा विश्वका १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको आयोजकले जनाएको छ। नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ मा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र ओमन फिजिक गरी ४ वटा प्रो. कार्डका लागि प्रतिस्पर्धा हुँदै छ।
प्रो.कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लास भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पियामा’ भाग लिन पाउनेछन्। प्रतियोगितामा प्रायोजकको रूपमा हिमालय स्प्रिङ वाटर प्राइभेट लिमिटेडको ‘हिमालयस अन टप’, नर्भिक अस्पताल, बुद्ध एयरलाइन्स र टोयटा कम्पनी रहेका छन्।
भिजिट नेपाल २०२० को नारा ‘लाइफटाइम एक्सपिरियन्स’ लाई प्रतिबिम्बित गर्न प्रतियोगिता र रोली विङ्कलारको उपस्थितिले महŒवपूर्ण योगदान पुर्याउने आयोजक आइएफबिबी लिग नेपालले विश्वास लिएको जनाएको छ। पत्रकार सम्मेलनमा भिजिट नेपाल–२०२० का संयोजक सुरज वैद्यप्रति संस्थाले विशेष आभारी व्यक्त गर्यो।
युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताका लागि आयोजक संस्थालाई शुभकामना प्रदान गरेका थिए। फागुन ४ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने खेलाडीबीच फागुन २ गते सेमिनार र ३ गते खेलाडीको उचाइ र तौल नापिनेछ। फागुन ४ गते नै बिहान ८ बजेदेखि प्रिजजिङ र २ बजेदेखि फाइनल खेल सुरु हुनेछ। फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्नेछन्।
प्रकाशित: २ फाल्गुन २०७५ ०३:२९ बिहीबार