१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बार्सिलोनासँग दूरी घटाउँदै रियाल

मड्रिड, – स्पेनिस ला लिगामा शनिबार रियाल मड्रिडले एट्लेटिको मड्रिडविरुद्ध ३–१ को जित निकाल्दै तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियनमा भएको खेलमा  जित निकाल्दै रियालले बार्सिलोनासँगको दूरी ५ अंकमा झारेको हो। बार्सिलोनाभन्दा एक खेल बढी खेलेको रियालको २३ खेलबाट ४५ अंक भएको छ भने बार्सिलोनाको २२ खेलबाट ५० अंक छ। पछिल्लो पाँच खेलमा लगातार जित निकालेको रियाल गत सेम्टेम्बरयता दोस्रो स्थानमा उक्लिन सकेको थिएन। 

‘हामी अन्तिम समयसम्म संघर्ष गरिरहन्छौं,’ रियालका प्रशिक्षक सान्टियागो सोलारीले भने, ‘पछिल्ला खेलमा पाएको सफलतालाई थाती राख्न जरुरी छ।’ ‘पाहुना टोली रियालको खेलशैली हाम्रोभन्दा निकै राम्रो थियो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘हामीलाई जति सक्दो लयमा फर्किन जरुरी छ।’  एट्लेटिकोविरुद्ध जित निकाल्न रियालका लागि कासेमिरोले १६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पछि परेको घरेलु टोली एट्लेटिकोले आक्रामक खेल खेल्दै २५औं मिनेटमा बराबरी गोल फर्कायो। एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निकै प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा रियालले पेनाल्टी अवसर पायो। सर्जियो रामोसले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा अग्रता पाएको रियालले दोस्रो हाफमा तेस्रो गोल गर्दै जित सुनिश्चित गर्‍यो। ग्यारेथ बेलले लुका मोडरिचको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई स्तब्ध पारेका थिए। रियालका लागि एक सयौं गोल पूरा गरेका बेलले खुसीयाली साट्दा एट्लेटिकोलाई अपमान गरेजस्तो देखिएको थियो। 

‘सयौं गोल पूरा गर्नु ग्यारेथका लागि निकै ठूलो उपलब्धि हो,’ रियालका प्रशिक्षक सोलारीले भने, ‘उनी निकै खुसी थिए। उनकै गोलको मद्दतमा रियालले जित सुनिश्चित गर्न सफल भयो भने सयौं गोल पनि पूरा भयो।’अन्तिम १० मिनेटमा १० खेलाडीमा सीमित बनेको एट्लेटिकोले बाँकी समयमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। दोहोरो पहेंलो कार्डको सामना गर्दै थोमस मैदानबाट बाहिरिएका थिए। लगातार तीन वर्षदेखि एट्लेटिकोको जर्सीमा खेलेका थोमस पहिलो पटक पूर्वक्लब रियालविरुद्ध घरेलु मैदानमा खेलेका थिए। 

पराजित भएको एट्लेटिको समान २३ खेलबाट ४४ अंकका साथ तेस्रो स्थानमा झरेको छ। यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा गेटाफेले सेल्टा भिगोलाई ३–१ ले हराएको छ। गेटाफेले १० खेलाडीमा सीमित बनेको सेल्टा भिगोको अग्रतालाई उल्टाउँदै जित निकाल्न सफल भएको हो। पाहुना टोली सेल्टा भिगोका म्याक्सी गोमेज ३७औं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको गेटाफेले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गरेको थियो। एसडी हुएस्काले जिरोनाको घरेलु मैदानमा २–० को जित निकाल्दा आरसिडी स्पानियोलले रायो भालेकानोमाथि २–१ को जित निकाल्यो। यस्तै आइतबार सम्पन्न अर्को खेलमा लेगानेसले रियाल बेटिसलाई १–० ले हरायो। (एएफपी)

 

प्रकाशित: २८ माघ २०७५ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App