१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

धनगढी प्रिमियर लिगको उद्घाटन खेल साेमबार

धनगढी - सोमबारबाट हुने धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको ट्रफी शुक्रबार धनगढीमा सार्वजनिक गरिएको छ। यसअघि शनिबारबाट प्रतियोगिता आयोजना हुने बताइए पनि लगातारको वर्षाका कारण फाप्ला मैदान हिलाम्मे भएपछि मिति दुई दिन पछि सरेको छ।

यद्यपि फाइनल खेल भने फागुन ११ मै आयोजना हुने आयोजकले बताएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिताका सद्भावना दूत दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए।

ट्रफी सार्वजनिक कार्यक्रममा ६ वटै खेलका कप्तानको सहभागिता रहेको थियो। ट्रफिसँगै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन जुत्ता पनि सार्वजनिक गरिएको छ। उद्घाटन खेल काठमाडांै गोल्डेन र धनगढी स्टार्सबीच हुनेछ। अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि प्रस्तावित धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा डिपिएलको तेस्रो संस्करणको खेल हुनेछ। यसअघि खेल प्रहरीको संघीय इकाई कार्यालयमा सम्पन्न भएका थिए। मैदानमा करिब ५ हजार दर्शक अटाउने फलामका कृत्रिम प्यारापिट निर्माण गरिएको छ। डिपिएलको पुरस्कार राशिमा यसपटक बिस प्रतिशत वृद्धि गरेर ६० लाख रुपैयाँ पुगाइएको छ।

प्रतियोगिताका सद्भावना दूत दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रूपमा लिगको ट्रफी सार्वजनिक गरे।

 

 

प्रकाशित: २६ माघ २०७५ ०६:२१ शनिबार

धनगढी_प्रिमियर_लिग डिपिएल