१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी क्वार्टरफाइनलबाटै बाहिर

आर्मी (हरियो) र क्यामरुनी डफिन्स क्लबका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – भर्खरै इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप उचालेर पोखरा आइपुगेको त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपको क्वार्टरफाइनलबाटै रित्तो हात फर्किएको छ।

दोस्रो रोजाइको टोली उतारेको आर्मी क्यामरुनी टोलीसँग ४–१ को फराकिलो  अन्तरमा पराजित भयो। सुदूरपश्चिमको खप्तड गोल्डकपमा पराजय भोगेसँगै नेपाली भूमिमा फुटबल खेल्न उत्रिएको क्यामरुनी डफिन्स क्लबले सोमबार  सेमिफाइनल यात्रा तय गर्‍यो। आर्मी भने प्रतियोगिताकै सबैभन्दा फराकिलो अन्तरबाट  बाहिरियो।

रेफ्रीले पहिलो हाफका लागि सिटी फुक्नुअघि क्यामरुनी टोलीले आर्मीविरुद्ध गोल गर्दै जितको ढोका खोल्यो। २ मिनेटको अतिरिक्त समयमा अग्ला कदका यान्निक ओवोनाले आरामले गोल गरे। एट्याकिङ डिफेन्स इकुमले दिएको लङ पास डी बक्स लाइनमा बसेका ओवोनाले लिए। अनमार्क रहेका उनले आरामदायी रूपमा बल अगाडि बढाएर गोलकिपरलाई जिल्याउँदै गोल गरेपछि क्यामरुनी टोलीले जितको आशालाई बलियो बनायो।

खेलमा दुई गोल गरेका यान्निक म्यान अफ दी म्याच घोषित भए।

दोस्रो हाफमा आर्मीमाथि क्यामरुनी टोली हाबी रह्यो। अग्ला र शारीरिक रूपमै बलिया अफ्रिकन खेलाडीले दोस्रो हाफमा एकपछि अर्को गोल थपे। टोलीले ६०औं मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनायो। यान्निक ओवोनाले व्यक्तिगत दोस्रो गोल गरे। उनले डिडर टिनाको पासलाई सदुपयोग गरे। अर्को गोल क्यामरुनले ६९ मिनेटमा थप्यो। आर्मीका दुई डिफेन्सलाई बिट गर्दै अघि बढेका अर्मेल अहन्डाले गोल गर्दै टोलीको खातामा तीन गोल चढाए। क्यामरुनी टोलीले  चौथो गोल खेलको अन्तिमतिर गर्‍यो। ओको बोटाले पाँच मिनेट थपिएको अतिरिक्त समयमा गोल गर्दै अन्तर फराकिलो बनाए।

आर्मीले पनि गोल फर्काउँदै इज्जत जोगाउने तर्खर गर्‍यो। सुदिल राईको स्थानमा वैकिल्पक रूपमा छिरेका सञ्जीव मोक्तानले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै आर्मीको इज्जतलाई ढाक्ने प्रयास गरे। यसअघि खेलको ३९औं मिनेटमा ओवोनाले हानेको हेडिङ सेकेन्ड बारमा लागेर रिबाउन्ड भयो। रिबाउन्ड बललाई एन्जमा यान्निकले प्रहार गरे। उक्त बललाई आर्मीका गोलकिपर विश्वास चौधरीले बचाउ गरे। ओवोनालाई पास भने अर्मेल अहन्डाले उपलब्ध गराइदिएका थिए।

खेलको ४१औं मिनेटमा पनि ओवोनाले कर्नरबाट नियोले दिएको पासलाई हानेको हेड क्रसबार माथिबाट बाहिरियो। आर्मीले पनि केही अवसर चुकायो। ४२औं मिनेटमा सुदिल राईले डी बक्सभित्रबाट हानेको पावर सट हावामा उडाइदिएपछि आर्मी सम्भावित अग्रता लिनबाट चुक्यो। त्यसभन्दा अघि राजु आलेले हानेको फ्रिकिक पनि क्यामरुनी गोलकिपरकै हातमा दिएपछि आर्मीले त्यो अवसरलाई पनि गुमाउन पुग्यो।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा पाहुना टोली रिस्हो युनिभर्सिटी जापानले नेपाल पुलिस क्लबको आतिथ्यता स्विकार्नेछ।

प्रकाशित: २२ माघ २०७५ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App