२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यामरुनी टोलीकाे विजयी सुरुआत

डाफिन्स एफसीका कप्तान अरमेल एकोन्डा (सेतो) च्यासलविरुद्ध बल अघि बढाउँदै। तस्बिरः उमेश/नागरिक

पोखरा – क्यामरुनी डाफिन्स फुटबल क्लबले छैटौं मनकामना केवलकार कपमा जितबाट खेलको सुरुआत गरेको छ। दुई दिनअघि नै पोखरा आइपुगेको क्यामरुनी टोलीले च्यासल युथ क्लब, काठमाडौंलाई १–० ले पराजित गरेकोे छ।

१२ औं मिनेटमा पाएको फ्रिकिकले भ्रमणकारी टोलीको भाग्य लेखियो। क्यामरुनी खेलाडी शारीरिक रूपमा बलिया र अग्ला  थिए। जसको फाइदा उनीहरूले हेडिङ गोलबाट लिए। ३० यार्डबाट इकविनले हानेको फ्रिकिक बल अग्ला खेलाडी यान्निकले हेड गर्दा फस्ट बार च्याप्दै पोस्टभित्र छिर्यो। यही बल च्यासलको यात्रालाई टुंग्याउन पर्याप्त बन्यो।

खेलको ३३औं मिनेटमा क्यामरुनी टोलीले अर्को अवसर पाए पनि सदुपयोग गर्न सकेन। क्यामरुनका सायलो मार्टिनले हानेको फ्रिकिक पावर सट क्रस बारमाथिबाट बाहिरियो। त्यसो त च्यासलले पनि अवसर नपाएको भने होइन।  पाएका अवसर गोलमा परिणत गर्न टोली चुक्यो।

पहिलो हाफ हुनुअघि च्यासललाई भाग्यले ठग्यो। हेमन्त थापामगरले हानेको बल भिक्टोर अमोबीको खुट्टाबाट फुत्किएर  सहकर्मी सुनील खड्काकोमा पुग्यो। तर उनले हानेको बल फस्टबारमा लागेर रिबाउन्ड भयो। रिबाउन्ड बललाई एल्भिस अप्पेचले गोल लाइनमा छुन नसक्दा क्यामरुनी डिफेन्स अर्मेल एकान्डोले क्लियर गरे।

खेलको २८औं मिनेटमा पनि एल्भिसकै सट सेकेन्ड बारनजिकैबाट बाहिरिएपछि च्यासलले अवसरलाई गुमायो। अनन्त थापाले कर्नर बल विक्रम लिम्बुलाई उपलब्ध गराए। लिम्बुको क्रस पासलाई एल्भिसले पोस्टको दिशा दिन खोजे पनि सफल हुन सकेनन्। दोस्रो हाफमा भने दुवै टोली राम्रो मुभ बनाउन असमर्थ रहे। क्यामरुनी टोली गोल जोगाउन उद्यत रहँदा च्यासल भने बराबरी गोल गर्न आतुर देखियो।

क्यामरुनी टोलीका व्यवस्थापक आशिष थापामगरले टोली क्यामरुनबाटै आएको बताउँदै पोखरामा आइपुग्दा तेस्रो खेलमा जित निकालेको बताए। उनले क्यामरुनी खेलाडी सञ्चालनको तयारीमा रहेको फ्रेन्चाइज लिगमा नेपाली क्लबबाट खेल्ने अवसर पाउन नेपाल आएको बताए। दोस्रो दिनको खेलमा क्यामरुनी गोलकिपर प्रिसो एनडिटान्गा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

मोफसलका केही सहरमा आयोजित नकआउट फुटबल प्रतियोगिताले पोखरामा आयोजित मनकामना केवलकार पोखरा कपमा खेलतालिका सार्वजनिक गरिएको छैन। एक ठाउँबाट अर्को ठाँउमा सहभागी क्लब नै उपस्थित हुनुपर्ने बाध्यता रहेको छ। कास्की जिल्ला फुटबल संघको आयोजना र मनकामना दर्शन प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता बिहीबार स्थगित गरिएको छ। शुक्रबार भने आयोजक पोखरा ११ ले बिग्रेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ माघ २०७५ ०४:०० बिहीबार

क्यामरुन डाफिन्स_फुटबल_क्लब मनकामना_केवलकार_कप च्यासल_युथ_क्लब