१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

१६औँ राष्ट्रपति रनिङ शिल्ड : सिदिङ्वामा खेल मैदान निर्माण तीव्र

१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिम्मेवारी ग्रहण गरेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेल मैदान निर्माणलाई तीव्रता दिएको छ। 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने पालिकाको वडा नं ४ साब्लाखुमा खेल मैदान निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिए। अध्यक्ष राईका अनुसार खेल मैदानसँगै उक्त स्थललाई पालिका स्तरीय रङ्गशालाको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। 

सुरुमा खेल मैदान निर्माण गरिसक्ने र त्यसपछि अन्य आवश्यक संरचनाहरू क्रमशः थप गरी व्यवस्थित गर्ने लक्ष्य पालिकाले लिएको छ। पालिकाको वडा नं १ कालिखोलामा समेत खेल मैदानसहित अन्य पूर्वाधारका काम हुनेगरी विद्युतीय बोलपत्रलाई प्रक्रियामा लगिएको समेत पालिकाले जनाएको छ। चालू आवमै कालिखोला सहित वडा नं २ सादेवा र वडा नं ३ आङ्खोपमा समेत खेल मैदान निर्माण कार्य पूरा गर्ने पालिकाको तयारी रहेको छ।

१५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८१ साल माघ २७ देखि ३० गतेसम्म मैवाखोला गाउँपालिकाको समन्वयमा गाउँपालिकाको वडा नं ३ स्थित नारायणी मावि साँघुमा सम्पन्न भएको थियो। १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आठराई त्रिवेणी गाउँपालिकाको समन्वयमा वडा नं २ फुलवारीस्थित महभीर खेल मैदानमा भएको थियो। 

जिल्ला खेलकुद विकास समितिले नयाँ भूगोलको जानकारी, ग्रामीण तहमा समेत खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने पुष्टि र खेलकुदमार्फत ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने हिसाबले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहाँका प्रत्येक स्थानीय तहमा सञ्चालन गर्नेगरी तयारी गरेको छ। सोहीअनुसार आठराई त्रिबेणीले १४औँ र मैवाखोलाले १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन समन्वय गरेका छन् भने सिदिङ्वाले १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन समन्वयको जिम्मेवारी लिएको छ। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो (गणेश) ले जिम्मेवारी लिएको निकायले अहिलेबाटै प्रतियोगिताका लागि खेल मैदान व्यवस्थापन तथा थप आवश्यक संरचनामा ध्यान दिन थाल्नु खुसीको विषय भएको बताए। उनले प्रतियोगिता सभ्य बनाउन अहिलेबाट थालिएको तयारीलाई नियमित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। ताप्लेजुङमा ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि जिल्ला स्तरीय प्रतिस्पर्धा हुने गरेको छ।

प्रकाशित: १० श्रावण २०८२ १६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App