७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

फितलाे ब्याटिङ गरेकाे नेपाल युएईसँग ३ विकेटले पराजित

काठमाडाैं - नेपाललाई ३ विकेटले पराजित गर्दै युएईले एकदिवसीय सिरिजमा १-० काे अग्रता बनाएकाे छ। नेपालले प्रस्तुत गरेकाे ११४ रनको झिनाे विजयी लक्ष्य पछ्याएको युएईले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायाे।

युएईका लागि घुलाम सब्बिरले ४८ बलमा सर्वाधिक ३० रनको योग्दान दिँदा शहिमान अनवरले ११ रन जाेडे। अमिर ह्यात २४ र इमरान हैदर १८ रनमा अविजित रहे। अमिर र इमरानको साझेदारी युएईको जीतका लागि महत्वपूर्ण रह्यो।  नेपालका लागि कप्तान पारस खडका, सन्दीप लामिछाने र करन केसीले समान २/२ विकेट तथा सोमपाल कामीले १ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन।

यसअघि टस हारेर  पहिले ब्याटिङ गरेकाे नेपालले  खराब ब्याटिङ प्रदर्शन गर्दै ३३ दशमलव ५ ओभरमा १ सय १३ रनमा समेटियाे। नेपालका लागि सोमपाल कामीले ४७ बलमा ३ चौका सहित सर्वाधिक ३० रन जोडेका थिए। त्यस्तै आरिफ शेखले ४३ बलमा २५, कप्तान पारस खड्काले ३६ बलमा २० र सन्दीप लामिछानेले १५ रनको योगदान दिए। नेपालका ७ जना खेलाडीले दोहोरो रनको स्कोर पार गर्न सकेनन्। पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो ओभरको चौथो बलमा शून्य रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। नेपाललाई सस्तैमा समेटन क्रममा युएईका मोहम्मद नाभिद र अमिर हयातले समान ३/३ विकेट लिए। त्यस्तै इमरान हैदरले २ तथा कदीर अहमदले एक विकेट लिए।

नेपालले युएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्दैछ। नेपालले दोस्रो एकदिवसीय शनिबार खेल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो।

प्रकाशित: ११ माघ २०७५ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App