२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

मनमोहन स्मृति कप क्रिकेट : प्रदेश–४ विजयी

इटहरी – ओभरको अन्तिम बलमा प्रदेश–४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै सुनसरी इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा टिमलाई विजयी बनाएका छन्।

समूह ‘डी’ अन्तर्गत शनिबारको खेलमा प्रदेश–४ लाई जितका लागि अन्तिम ओभरमा ४ रनको आवश्यक थियो। इनरुवा खेल मैदानमा भएको खेलको अन्तिम ओभर बलिङ गरेका एपिएफका कमलसिंह ऐरीको अन्तिम बलमा चौका प्रहार गर्दै मेखबहादुरले प्रदेश–४ लाई जित दिलाएका हुन्।

९ जना ब्याट्सम्यान पेवलियन फर्किसकेको अवस्थामा प्रदेश–४ का ब्याट्सम्यान मेखबहादुर र राजु गुरुङले नटआउट ११ रन जोड्दै विभागिय टोली एपिएफलाई १ विकेटले स्तब्ध बनाए।

एपिएफको बलिङमा अनिल साहले ४ विकेट लिए पनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन्। एपिएफले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको प्रदेश–४ का लागि अनिल गुरुङ र विधान श्रेष्ठले अर्धशतक पूरा गरे। गुरुङ ६४ रन बनाएर आउट हुँदा श्रेष्ठले ६१ रनको योगदान दिए। मन्जिल न्यौपानेले ३१ रन जोडेका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाउँदै २ सय १५ रन बनाएको थियो। एपिएफका लागि भुवन कार्कीले ३६ रन बनाएर आउट हुँदा इसाद अहमदले नटआउट ३० रनको योगदान दिएका थिए। अनिल साहले २६ रन जोडे। प्रतियोगिताको म्यान अफ दी म्याच विधान श्रेष्ठ घोषित भए।

प्रकाशित: २९ पुस २०७५ ०३:५३ आइतबार

मनमोहन_स्मृति_क्रिकेट प्रदेश–४