६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भैरहवालाई हराउँदै ललितपुरले उचाल्यो इपीएलको उपाधि

काठमाडाैं - तेस्राे संस्करणकाे एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ। उपाधि भिडन्तमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले उपाधि हात पारेको हो।

जितकालागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४१ रन मात्रै जोड्न पुग्दा इपीएलको उपाधिमाथि ललितपुरले कब्जा जमाएको हो। भैरहवा भने लगातार दाेस्राे पटक उपविजेतामै सीमित भएकाे छ। गत वर्ष समेत भैरहवा उपविजेता बनेकाे थियाे। उपाधि विजेता ललितपुरले ट्रफिसँगै नगद २५ लाख प्राप्त गरेकाे छ। उपविजेता बनेकाे भैरहवाले भने १० लाख प्राप्त गरेकाे छ।

त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल प्रतिष्पर्धामा टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले भैरहवालाई जितका लागि १ सय ५६ रनकाे लक्ष्य दिएकाे थियाे। ललितपुरलाई सम्मानजनक याेगफलसम्म पुर्याउने क्रममा जयकिशन काेल्सावालाले सर्वाधिक ५७ रन बनाए। सुरुवात राम्राे गरेकाे ललितपुरले पहिलाे विकेटकालागि ४१ रनकाे साझेदारी गरेकाे थियाे।

गाैरभ टाेमरसँगै ओपनिङ ब्याट्सम्यानका रुपमा आएका काेल्सावालाले ललितपुरकाे विकेट जान थालेपछि सम्हालिएर खेल्दै १७ दशमलव ५ ओभरसम्म क्रिजमा रहे। उनी कृष्ण कार्कीकाे बलमा वाेल्ड आउट भए। यस्तै सन्दीप जाेराले २४ तथा गाैरभ टाेमारले २३ रन बनाउनु वाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ललितपुरले १८ रन अतिरिक्तका रुपमा प्राप्त गरेकाे थियाे। ललितपुरलाई १९ दशमलव १ ओभरमै अलअाउट गर्ने क्रममा कृष्ण कार्कीले ३ तथा माेहम्मद नाविद र रेन टेन डस्केटले समान २/२ विकेट लिए।

जितका लागि १ सय ५६ रनकाे लक्ष्य पछ्याएकाे भैरहवाले पहिलाे विकेटका लागि ३३ रनकाे साझेदारी गरेपनि त्यसपछि लामाे साझेदारी गर्न नसक्दा हार व्यहाेर्न वाध्य भयाे। चाैथाे विकेटकाे रुपमा रवी इन्दर सिंहलाई १५ दशमलव १ ओभरका गुमाएकाे भैरहवाले त्यसपछि जित हात पार्ने सम्भावना खुम्चेकाे थियाे। भैरहवाका लागि प्रदिप ऐरीले सर्वाधिक ३४ रन बनाए।

यस्तै रवी इन्दर सिंहले २९ तथा कुशल मल्लले अविजित १६ रन बनाए। फाइनल खेलमा दुवै टोलीका कप्तान चल्न सकेनन्। ललितपुरका कप्तान ज्ञानेन्द्रले १० रन बनाउँदा भैरहवाका कप्तान शरद भेष्वाकरले १४ रन बनाए। ललितपुरका ललित राजवंशीले ३ तथा योगेन्द्र सिंह कार्की र पवन सर्राफले समान २/२ विकेट लिए।

प्रतियाेगिताका उत्कृष्ट खेलाडी भैरहवाका रवी इन्दर सिंह भए उनले माेटरसाइकल प्राप्त गरे।

प्रकाशित: ७ पुस २०७५ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App