६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायरमा

काठमाडौं – ललितपुर प्याट्रीयट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार सम्पन्न एकमात्र खेलमा भैरहवा ग्लाडीयटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुर क्वालिफायरमा प्रवेश गरेको छ।

५ खेलबाट ८ अंक जोड्दै ललितपुर अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। ५ खेलबाट ६ अंक जोडेको भैरहवाको पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ।  भैरहवा दोस्रो स्थानमा छ। सोमबार हुने विराटनगर र काठमाडौंबीचको खेलपछि क्वालिफायरमा पुग्ने दोस्रो टोलीको तय हुनुका साथै प्ले अफमा पुग्ने अर्को टोलीको पनि टुंगो लाग्नेछ। क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ।

भैरहवाले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य ललितपुरले १४.२ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। ललितपुरको जितमा पवन सर्राफले सर्वाधिक २५ रनको योगदान दिए। उनले ३६ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै जयकिशन कोल्सवालाले २७ बलमा नटआउट २२ र सन्दीप जोराले नटआउट १८ रन बनाए। गौरव तोमार, कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले दोहोरो रन बनाउन सकेनन्। बलिङतर्फ भैरहवाका रेन टेन डस्केटले २ तथा मोहम्मद नाविद र कप्तान सरद भेषावकरले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा अलआउट हुँदै ९२ रनको सामान्य रनको स्कोर खडा गरेको थियो। भैरहवाका लागि रेन टेन डस्केटले सर्वाधिक ३७ रन जोडे। ३६ बलको सामना गरेका डस्केटले ३ चौंका र १ छक्का प्रहार गरेका थिए। यस्तै रविइन्दर सिंहले १५ बलमा २५ रन जोडे।

भैरहवाका ९ जना खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। भैरहवालाई सस्तैमा समेट्न ललितपुरका सन्नी पटेलले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका सन्नीले १२ रन दिँदै ५ विकेट लिएका हुन्। सन्नी एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। त्यस्तै योगेन्द्र सिंह कार्की र राशिद खानले समान २–२ विकेट लिए।

प्रकाशित: १ पुस २०७५ १०:१५ आइतबार

ललितपुर_प्याट्रीयट्स इपिएल क्वालिफायर