४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

ललित र सागरकाे उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित, हायातको ९० रन छायाँमा

काठमाडौं – विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै चितवन टाइगर्सले राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो जित दर्ता गरेको छ। अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले पहिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ।

सुरुवाती २ खेल जितेको विराटनगरले भने लगातार दोस्रो हार ब्यहोरेको छ। यो खेल जितेको भए विराटनगर प्ले अफमा पुग्ने थियो। हारले पनि विराटनगरको प्लेअफ सम्भावना कायमै छ। ४ खेलबाट ४ अंक जोडेको विराटनगरले तेस्रो र २ अंक जोडेको चितवन चौंथो स्थानमा छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा चितवनले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनमा समेटियो। विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायातले सर्वाधिक ९० रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।

शतक बनाउँन १० रनले चुकेका बाबरले विस्फोटक ब्याटिङ गर्ने क्रममा ४२ बलमा ५ चौंका र ८ छक्का प्रहार गरेका थिए। त्यस्तै आसिफ शेखले २१ बलमा ३ चौंकाको सहायतामा ३०, करण केसीले १८ बलमा नटआउट २४, कप्तान पारस खड्काले १५ बलमा १९ र अनिलकुमार शाहले १३ बलमा १२ रनको योगदान दिएका थिए।

बलिङतर्फ चितवनका ललितसिंह भण्डारीले ४ विकेट लिए। भण्डारीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएका थिए। त्यस्तै सागर ढकालले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिए। 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन टाइगर्सले पूरै २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय ९६ रन बनाएको थियो। चितवनका लागि इङ्लिस ब्याट्सम्यान जोन सिमप्सनले अर्धशतकीय इनिङस खेल्दै सर्वाधिक ७८ रनको योगदान दिएका थिए। उनले ४४ बलमा ६ चौंका र ५ छक्का प्रहार गरे।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले २२ बलमा ३ चौंकाको मद्दतमा ३२, सन्दीप सुनारले २२ बलमा ६ चौंकाको मद्दतमा ३०, जर्ज स्कटले २४ र पाउल स्टर्लिङले १५ रनको योगदान दिएका थिए। विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले एक–एक विकेट लिए।

प्रकाशित: २८ मंसिर २०७५ ०७:३० शुक्रबार

इपिएल चितवन_टाइगर्स पहिलाे_जित बाबर_हायात