१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगर र भैरहवा तथा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं – राजधानीमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार पनि २ खेल हुँदैछन्। बिहान ९ बजे कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्स र साविक उपविजेता भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगरको कप्तान पारस खड्का र भैरहवाको कप्तान सरद भेषवाकर हुन्। जारी लिगमा दुई टोलीले २ खेल खेल्दा दुवैमा जित हात पार्दै ४–४ अंक जोडेका छन्। तालिकामा भैरहवा दोस्रो र विराटनगर तेस्रो स्थानमा छ। विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्र्स र दोस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो।

यता भैरहवाले पहिलो खेलमा पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पाखा लगाएको थियो। दुवै टोली तेस्रो जितको खोजिमा छन्। गत वर्ष फाइनलमा यी टोेली भिड्दा विराटनगरले वाजी मारेको थियो। आजको खेलमा विराटनगरकाबाट हङकङका स्टार ब्याट्सम्यान बाबर हयातपनि खेल्नेछन्। भैरहवामा आबद्ध युएइका मोहम्मद नाभी पनि आजको खेलदेखि उपलब्ध हुनेछन्।

यस्तै बुधबार हुने दोस्रो खेलमा सोमपाल कामीको काठमाडौं र ज्ञानेन्द्र मल्लको ललितपुर आमने सामने हुनेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। ललितपुरको यो चौथो खेल हो।  ललितपुरले ३ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। काठमाडौंको भने यो दोस्रो खेल हो।

काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो। यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ। पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो। आजको खेलमा काठमाडौंबाट युएइका रोहन मुस्तफाले पनि खेल्नेछन्।

प्रकाशित: २६ मंसिर २०७५ ०३:०२ बुधबार

इपिएल दुर्इ_खेल बाबर_हयात