२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

तेस्रो टेस्टमा पनि श्रीलंका कमजोर

कोलम्बो (एएफपी) – आइतबारको दोस्रो इनिङमा ५३ रन बनाउँदा ४ विकेट गुमाएपछि श्रीलंका घरेलु मैदान कोलम्बोमा इङ्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट बचाउन संघर्ष गरिरहेको छ।

३ सय २७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले लगातार खराब ब्याटिङको सामना गरिरहेको छ। यसअघि श्रीलंकाले पहिलो टेस्टमा २ सय ११ र दोस्रो टेस्टमा ५७ रनको हार बेहोर्दै शृंखला गुमाइसकेको छ।

तेस्रो टेस्टमा पनि खराब ब्याटिङ प्रदर्शनका कारण श्रीलंका कमजोर स्थितिमा छ। इङ्ल्यान्डका स्पिनर मोइन अलीले लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको श्रीलंकाका ओपनरद्वय दनुस्का गुनाथिलकालाई ६ रन र दिमुथ करुनारत्नेलाई २३ रनमा आउट गर्दै घरेलु टोलीलाई सुरुआती झड्का दिएका थिए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका धनन्जय डी सिल्भालाई खाता नखोल्दै  अर्का स्पिनर ज्याक लिचले एलबिडब्लु आउट गरेका थिए। इङ्ल्यान्डका बेन स्टोक्सले एन्जेलो म्याथ्युजलाई ५ रनमै आउट गरे। कुशल मेन्डिसले १५ रन र लक्षन सन्दकनले १ रनबाट सोमबारको चौथो दिन खेल सुरु गर्नेछन्।

यसअघि दोस्रो इनिङमा इङ्ल्यान्डले ३९ रनमा ४ विकेट गुमिसकेको अवस्थाबाट २ सय ३० रन बनाउँदै श्रीलंकासामु ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जस बटलरले ६४ रन, बेन स्टोक्सले ४२ रन र बेन फोक्सले नटआउट ३६ रन बनाउँदै इङ्ल्यान्डको दोस्रो इनिङ उकासेका थिए। इङ्ल्यान्डले ४२ रनमा ४ विकेट गुमेको अवस्थाबाट तेस्रो दिनको सुरुआत गरेको थियो।

पाँचाैं विकेटका लागि बटलर र बेन स्टोक्सले ५० रनको साझेदारी गर्दै तेस्रो दिन राम्रो सुरुआत दिलाएका थिए। तर, त्यो साझेदारी तोडिएपछि इङ्ल्यान्डले ब्याटिङमा संघर्ष गरेको थियो। श्रीलंकाका बलर दिलरुवान परेराले पाँच विकेट, मालिन्दा पुष्पकुमाराले ३ विकेट तथा सन्दकनले २ विकेट लिँदै इङ्ल्यान्डलाई तेस्रो दिनमै समेटेका थिए।

यसअघि पहिलो इनिङमा इङ्ल्यान्डले ३ सय ३६ रन बनाउँदा जबाफी ब्याटिङ गरेको श्रीलंका २ सय ४० रनमा समेटिएपछि ९६ रनले पछि परेको थियो।

प्रकाशित: १० मंसिर २०७५ ०४:३४ सोमबार

क्रिकेट