काठमाडौं – सेनेगलका स्ट्राइकर साडियो मानेले इङ्लिस क्लब लिभरपुलसँगको सम्झौता लम्ब्याएका छन्। सन् २०१६ मा अर्को इङ्लिस क्लब साउथह्याम्टनबाट ५ वर्षको अनुबन्धनमा लिभरपुल आएका मानेले लिभरपुलमै रहने निधो गरेका हुन्।
साउथह्याम्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका मानेले नयाँ सम्झौता अनुसार साताको १ लाख ५० हजार पाउण्ड पाउनेछन्। २६ वर्षीय मानेले आफ्ना अरु समकक्षी मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले क्लबसँगको सम्झौता लम्ब्याएपछि आफू पनि लिभरपुल बस्न चाहेको बताएका छन्।
गत सिजनको च्याम्पियन्स लिगको फाइनलसम्म क्लबलाई पुर्याउन महत्वपूर्ण भूमिका खेलेका माने क्लबमा वर्षको उत्कृष्ट खेलाडी बनिसकेका छन्। मानेले लिभरपुलमा आफ्नो पहिलो सिजनमा २० खेलमा १० गोल गरेका थिए।
रसिया विश्ककपमा देशले प्रतिनिधित्व गर्दा उनले ३ गोल गरेका थिए। माने स्पेनिस क्लब रियाल मड्रिड जाने हल्ला समेत चलेको थियो।
प्रकाशित: ७ मंसिर २०७५ ०८:५९ शुक्रबार