५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डको जित सम्भावना बलियो

श्रीलंकाली दिलरुवान परेराको विकेट लिएपछि इङ्ल्याण्डका स्पिनर ज्याक लिच । तस्बिरः एएफपी

केन्डी – स्पिनर ज्याक लिचप्रेरित इङ्ल्यान्ड श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा जित्ने सम्भावना बलियो पारेको छ । केन्डीमा शनिबार वर्षाले प्रभावित हुनुअघि श्रीलंकाको इनिङ समालिरहेका एन्जेलो माथ्युज ८८ रनमा आउट भएपछि पाहुना टोली इङ्ल्यान्ड जितनजिक पुगेको हो।

चिया समय सकिएपछिको पहिलो ओभरमा मोइन अलीले माथ्युजलाई एलबिडब्लु धरापमा पार्दै श्रीलंकाको आशालाई कमजोर पारेका थिए । ३ सय १ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सम्यान कौशल डी सिल्भा ४ रन, धनन्जय डी सिल्भा र कुशल मेन्डिस १÷१ रनमा आउट भएपछि घरेलु टोलीको पारी धरमराएको थियो।

इङ्ल्यान्ड  पहिलो इनिङमा २ सय ९० रनमा सीमित भएको थियो । श्रीलंकाले पहिलो इनिङमा ३ सय ३६ रन जोड्दै इङल्यान्डमाथि ४६ रनको झीनो अग्रता लिएको थियो । त्यस्तै इङ्ल्यान्डले कप्तान जो रुटको शतकमा दोस्रो इनिङमा ३ सय ४६ रन जोडेपछि श्रीलंकाले जितका लागि ३ सय १ रनको लक्ष्य पछ्याएको थियो।

सातौँ विकेटका रूपमा दिलरुवान परेरा आउट हुँदा वर्षा भएको थियो । चौथो दिनको खेल समाप्तिमा श्रीलंका २ सय २६ रनमा खेलिरहेको छ । निरोसान डिकवेला अविजित २७ रनमा छन् । श्रीलंकालाई जितका लागि अन्तिम दिन ७५ आवश्यक छ र टोलीसँग ३ विकेट सुरक्षित छ । तीन खेलको शृंखलामा श्रीलंका १–० ले पछाडि छ।

इङ्ल्यान्डका लागि लिचले ४, अलीले २ र अदिल रसिदले एक विकेट लिँदै श्रीलंकाको इनिङलाई धराशयी बनाएका थिए । श्रीलंकाको खातामा २६ रन हुँदा ३ विकेट गुमाइसकेको अवस्थामा माथ्युजले शृंखलामा तेस्रो अर्धशतक प्रहार गर्दै इनिङलाई उकासेका थिए।

उनले पाँचौँ विकेटका लागि रोसेन सिल्भासँग ७३ रनको साझेदारी गरेका थिए । तर, रोसेन पनि ३७ रन बनाएर आउट भए । लिचले तीन ब्याट्सम्यानलाई सस्तैमा आउट गर्दा श्रीलंकाले २६ रनमा ३ विकेट गुमाइसकेको थियो । तर, ओपनर दिमुथ करुनारत्नेले चौथो विकेटका लागि माथ्युजसँग ७७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए । तर, दिमुथ पनि ५७ रनमा इङ्ल्यान्डका अर्का स्पिनर अदिलद्वारा स्टम्पिङ भए।

प्रकाशित: २ मंसिर २०७५ ०३:१५ आइतबार

इङ्ल्यान्ड ज्याक_लिच टेस्ट_शृंखला