२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोना र पिएसजीको सहज जित, लिभरपुल नापोलीसँग स्तब्ध

काठमाडाैं – च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना, पिएसजी र एथ्लेटिको मड्रिड विजयी हुँदा लिभरपुल भने नापोलीसँग स्तब्ध भएको छ। समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इङ्लिस क्लब टोटेनह्यामलाई ४–२ गोलअन्तरले पराजित गर्यो।

टोटेनह्यामको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ तथा कौटिन्हो र राकिटिक एक–एक गोल गरे। ८२ हजार दर्शकमाझ भएको खेलको दोस्रो मिनेटमा नै फिलिपे कौटिन्होले गोल गर्दै टोटेनह्यामका दर्शकलाई स्तब्ध पारे। २८ औं मिनेटमा इभान राकिटिकले बार्साको अन्तर २–० मा पुर्याए।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको बार्सिलोनाविरुद्ध ५२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै गोलअन्तर कम गरेका थिए। तर ५६ औं मिनेटमा मेस्सीले बार्साका लागि तेस्रो गोल गरे। गोलको वर्षा भएको खेलको ६६ औं मिनेटमा लामेलाले गोल गर्दै खेल ३–२ को अवस्थामा पुर्याए। तर ९० औं मिनेटमा मेस्सीले पुन बार्साको स्कोर कार्डमा अर्को गोल थपे। जसका कारण ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित हात पार्यो। 

यता इङ्लिस क्लब लिभरपुलले इटालियन क्लब नापोलीसँग नमिठो हार ब्यहोरेको छ। नापोलीले घरेलु मैदानमा लिभरपुललाई १–० ले पराजित गर्यो। समूह ‘सी’ अन्तर्गत भएको रोमाञ्चक खेलमा नापोलीले अन्तिम समयमा गोल गर्न सफल भयो। पहिलो खेलमा पिएसजीलाई हराएको लिभरपुल अवे खेलमा भने नापोलीसँग पराजित भयो।

खेलको ९० औं मिनेटमा नापोलीका लोरेन्जो इनसिग्नेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। अन्तिम समयमा गरेको गोलका कारण लिभरपुल खेलमा फर्कन सकेन र पराजय भोग्न बाध्य भयो। जारी प्रतियोगिताको समूह चरणमा लिभरपुलको यो पहिलो हार हो।

उता फ्रेन्स क्लब पीएसजीले पनि सर्बियन क्लब रेड स्टार बेल्ग्राडीलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो। जसमा स्ट्राइकर नेइमारले ह्याट्रिक गरे। घरेलु मैदानमा भएको एकतर्फी खेलमा पीएसजीले खेलको २२ औं मिनेटमा २ गोलको अग्रता बनाएको थियो। दुवै गोल नेइमारले गरेका थिए। ३७ औं मिनेटमा काभानीले पिएसजीका लागि तेस्रो गोल गरे। त्यसपछि डी मारियाले चौंथो गोल थपे।

पहिलो हाफमा नै ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल खायो। ७० औं मिनेटमा किलियन एमबाप्पेले पाँचौं गोल गरे। ७४ औं मिनेटमा पाहुना टोलीका मार्को मारिनले एक गोल फर्काएपनि ८१ औं मिनेटमा नेइमारले गोल गर्दै ह्याट्रिक पूरा गरे। 

यता स्पेनिस क्लब एथ्लेटिको मड्रिडले बेल्जियम क्लब ब्रुगलाई ३–१ ले हरायो। एथ्लेटिको मड्रिडको जितमा खेलको २८ र ६७ औं मिनेटमा एन्टोनियो ग्रिजम्यान र दोस्रो हाफको इन्जुरी समयमा कोकेले गोल गरे। 

त्यस्तै राति नै भएका अन्य खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले फ्रान्सको मोनाकोलाई ३–०, इटालियन क्लब इन्टर मिलानले नेदरल्याण्डस्को पीएसभी इन्धोभेनलाई २–१ र पोर्चुगलको एफसी पोर्टोले टर्कीको गालातासरेलाई २–१ ले पराजित गरेका छन्। 

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App