६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल म्यानमारसँग खेल्दै, विजेता बन्दै दोस्रो चरण पुग्ने लक्ष्य

(फाइल फाेटाे)

काठमाडौं – क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्रा थालनी गर्दै छ।

मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले सहज समूहमा रहे पनि आफूहरू कुनै पनि टोलीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने बताएका थिए । छनोटचरणको शीर्ष ३ मा बस्दा पनि दोस्रो चरणका लागि छनोट हुने भए पनि आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने पारसले बताए।

‘हामीले अन्तर्राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिता नखेलेको लामो  समय भइसक्यो । तर  नेपालमा पछिल्लो समय बढ्दै गएको ट्वान्टी–२० प्रतियोगिताले खेलाडीहरूलाई केही सहज हुनेछ,’ पारसले भने, ‘एकदिवसीय राष्ट्रको मान्यता पाएपछि समर्थकले हामीसँग अपेक्षा  धेरै गरेका छन् । त्यसैले हामी यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेताकै हैसियतमा दोस्रो चरणमा प्रवेश गर्न चाहन्छाैं।’

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोवर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।

‘एकदिवसीय राष्ट्रको मान्यता पाएपछि समर्थकले हामीसँग अपेक्षा  धेरै गरेका छन् । त्यसैले हामी यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेताकै हैसियतमा दोस्रो चरणमा प्रवेश गर्न चाहन्छाैं।’

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

‘यस प्रतियोगितामा सहज प्रतिद्वन्द्वीहरू भएका कारण हामीलाई त्यति कठिन नहुन  सक्छ । तर यो अर्को चरणका लागि राम्रो अभ्यास बन्न सक्छ । त्यसैले हामी राम्रोभन्दा राम्रो क्रिकेट खेल्न दृढ छाैं  ।’ टोलीमा भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र ओपनर प्रदीप ऐरीको पुनरागमन टोलीका लागि फलदायी हुने प्रशिक्षक जगत टमाटाले बताए । प्रदीपले २०१५ पछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् भने नेदरल्यान्ड्स भ्रमणमा औंलामा चोट लागेपछि शरद् पनि मैदानबाहिर थिए ।

‘हामी निरन्तर क्रिकेट खेलिरहेका छाैं,’ टमाटाले भने, ‘त्यसैले यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरण प्रवेश गर्नेमा हामी विश्वस्त छाैं । टोली उत्कृष्ट छ र टोलीको मनोबल पनि उच्च छ।’

प्रदीपले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्,’ टमाटाले थपे, ‘ऊ टवान्टी–२० खेलका लागि उपयुक्त खेलाडी हो ।’ यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: १७ आश्विन २०७५ ००:१३ बुधबार

क्रिकेट ट्वान्टी–२०_एसिया_छनोट मलेसिया