काठमाडौं – आर्मीका विमला श्रेष्ठ र पुनम रावलले आसन्न विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन्।
आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु हुँदै छ । नेपालबाट ५१ केजीमुनि विमला तथा ६० केजीमुनि पुनमले प्रतिस्पर्धा गर्नेछन् । विश्व च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा ५१ केजीमुनि तौलसमूहमा त्रिभुवन आर्मीकी विमला श्रेष्ठ र ६० केजी तौलसमूहमा आर्मीकै पुनम रावल छनोट भएका छन्।
सातदोबाटोस्थित रिङमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा मंगलबार विमलाले आफ्नै विभागकी मनु गुरुङलाई ५–० अंकका आधारमा पराजित गरिन् । त्यस्तै ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपिएफकी संगीता सुनारको चुनौती ३–२ अंकका आधारमा पन्छाइन्।
यसबीचमा पुनम र विमलालाई खेलकुद प्रवर्धन संस्थाका पुष्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले नगद ५÷५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरे । छनोट हुन सफल खेलाडीलाई राखेप सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, गुरु सुरेशसिंह आलेलगायतको उपस्थिति थियो।
प्रकाशित: १६ आश्विन २०७५ २३:५० मंगलबार