११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप छनोटः नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

काठमाडौं – एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ। मलेसियामा जारी आफ्नो पाँचौं खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रनको सामान्य स्कोेर प्रस्तुत गरेको छ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २० रन बनाए। त्यस्तै अनिलकुमार शाह र बसन्त रेग्मीले नटआउट १५–१५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्।

फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ। नेपाललाई जितेर मात्र पुग्दैन ओमान र युएईबीचको नतिजा पनि आफू अनुकूल आउन जरुरी छ । ठीक त्यस्तै हङकङलाई पनि आफ्नो जित मात्र पर्याप्त हुँदैन । ओमानले युएईलाई हराइदिनुपर्छ । हङकङको हकमा ओमानले युएईलाई हराईदिए फाइनलमा स्थान बनाउनका लागि आफ्नो जित काफी हुन्छ । तर, नेपाललाई त्यो सुविधा छैन । नेपाललाई रनरेटले पनि साथ दिनुपर्छ । त्यसैले नेपाल पुनः एक पटक भगवान भरोसाको स्थितिमा छ। 

मंगलबार ओमानविरुद्धको खेल वर्षाले प्रभावित बनेपछि हङकङले अंक बाँड्यो । ४ खेलबाट ५ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने ७ अंकका साथ ओमान पहिलो स्थानमा छ । आयोजक मलेसिया र सिंगापुर प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा शीर्ष चार टोलीमध्ये जोकोहीले फाइनलमा स्थान बनाउन सक्छन् । कुनै पनि टोली ढुक्क हुने अवस्थामा छैनन् । त्यसैले सबै टोलीका लागि मंगलबार जितको विकल्प छैन।

नेपालले हङकङलाई र ओमानले युएईलाई पराजित गरिदिए नेपाल र युएईको समान ६ अंक हुनेछ । लिग विजेताको हैसियतमा ओमानले फाइनल पक्का गर्नेछ । नेपाल र युएईबीचको रनरेटले दोस्रो स्थानमा रहेर फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । त्यस कारण नेपालले मंगलबार हङकङमाथि फराकिलो जित निकाल्नुका साथै ओमानले युएईलाई फराकिलो अन्तरमा पराजित गरे मात्र फाइनल खेल्ने सम्भावना हुन्छ । अन्यथा एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली १२ दिनपछि युएईमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यहाँ छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

 

प्रकाशित: १९ भाद्र २०७५ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App