१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप छनोटः नेपाल हङकङसँग भिड्दै, सबैको सम्भावना उत्तिकै

(फाइल फाेटाे)

काठमाडौं – एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने झीनो आशासहित नेपाली क्रिकेट टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ। 

नेपाललाई जितेर मात्र पुग्दैन ओमान र युएईबीचको नतिजा पनि आफू अनुकूल आउन जरुरी छ । ठीक त्यस्तै हङकङलाई पनि आफ्नो जित मात्र पर्याप्त हुँदैन । ओमानले युएईलाई हराइदिनुपर्छ । हङकङको हकमा ओमानले युएईलाई हराईदिए फाइनलमा स्थान बनाउनका लागि आफ्नो जित काफी हुन्छ । तर, नेपाललाई त्यो सुविधा छैन । नेपाललाई रनरेटले पनि साथ दिनुपर्छ । त्यसैले नेपाल पुनः एक पटक भगवान भरोसाको स्थितिमा छ। 

मंगलबार ओमानविरुद्धको खेल वर्षाले प्रभावित बनेपछि हङकङले अंक बाँड्यो । ४ खेलबाट ५ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने ७ अंकका साथ ओमान पहिलो स्थानमा छ । आयोजक मलेसिया र सिंगापुर प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा शीर्ष चार टोलीमध्ये जोकोहीले फाइनलमा स्थान बनाउन सक्छन् । कुनै पनि टोली ढुक्क हुने अवस्थामा छैनन् । त्यसैले सबै टोलीका लागि मंगलबार जितको विकल्प छैन।

नेपालले हङकङलाई र ओमानले युएईलाई पराजित गरिदिए नेपाल र युएईको समान ६ अंक हुनेछ । लिग विजेताको हैसियतमा ओमानले फाइनल पक्का गर्नेछ । नेपाल र युएईबीचको रनरेटले दोस्रो स्थानमा रहेर फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । त्यस कारण नेपालले मंगलबार हङकङमाथि फराकिलो जित निकाल्नुका साथै ओमानले युएईलाई फराकिलो अन्तरमा पराजित गरे मात्र फाइनल खेल्ने सम्भावना हुन्छ । अन्यथा एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली १२ दिनपछि युएईमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यहाँ छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगितामा हङकङका कप्तान अंशुमन रथ र बाबर हायात लयमा छन् । बाबर हायात प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । उनले एक शतक र एक अर्धशतकसहित १ सय ९१ रन बनाएका छन् । एउटा शतक पूरा गरेका अंशुमन धेरै रन बनाउने खेलाडी सूचीको छैटौं स्थानमा छन् । बलिङतर्फ पनि १० विकेट लिएका हङकङकै नादिम अहमद शीर्ष तथा ९ विकेट लिएका इसान नवाज तेस्रो स्थानमा छन् । तर, नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का रन बनाउन असफल छन् भने ज्ञानेन्द्र मल्लको स्थिति पनि त्योभन्दा राम्रो छैन । राम्रो रनरेट चाहिएको अवस्थामा ओपनर सुवास खकुरेलको सुस्त ब्याटिङ समास्या बन्न सक्छ । युवा खेलाडीको प्रदर्शन पनि एकरूपको छैन। 

 

प्रकाशित: १८ भाद्र २०७५ २३:४१ सोमबार

एसिया_कप_छनोट हङकङविरुद्ध_नेपाल झीनो_आशा