६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालद्वारा मलेसियासामु १८९ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्र र आरिफको अर्धशतक

काठमाडौं – मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १ सय ८८ रन बनायो। नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाएका छन्। आरिफले नटआउट ६४ र दिपेन्द्रले ५४ रन बनाए। ४८ बल खेलेका आरिफले ५ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै दिपेन्द्रले ५१ बलमा ६ चौंका र १ छक्का प्रहार गरे। 

कमजोर शुरुवात गरेको नेपालका लागि दिपेन्द्र र आरिफले छैटौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए। त्यस्तै नेपालका लागि अनिलकुमार शाहले १६, पारस खड्काले १३ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन।

मलेसियाका लागि सर्भिन मुनियान्डी र सैजरुल इदरुसले समान ३ तथा मोहम्मद अनवर रहमनले १ विकेट लिए। अब मलेसियाले केही बेरमा ब्याटिङ गर्नेछ। 

सुरुवातका दुई खेलमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न यो खेलमा जित्नैपर्ने दबाब छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको थियो।  

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्। 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १६ भाद्र २०७५ ०७:४३ शनिबार

नेपालकाे_सामान्य_प्रदर्शन एसिया_कप_छनोट_क्रिकेट मलेसिया