१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्याराग्लाइडिङमा विजयको तारिफयोग्य प्रदर्शन

पोखरा – इन्डोनेसियामा सुरु भएको १८औं एसियन गेम्सअन्तर्गत नेपाली प्याराग्लाइडिङ पाइलट विजय गौतम एकल एक्युरेसी प्रतिस्पर्धामा तेस्रो स्थानमा छन् । उनले सोमबार मात्रै दुई चरणको टेक अफ र ल्यान्डिङ २२ अंकसहित तेस्रो स्थानमा छन्।

अझै चार चरणको प्रतिस्पर्धा भने बाँकी छ । उनले उत्कृष्ट लयलाई निरन्तरता दिए भने प्याराग्लाइडिङमा पदकको आशा गर्न सकिने अवस्था देखिएको छ । त्यसको लागि अझै चार चरण पूरा गर्नुपर्नेछ । उनीभन्दा अघि इन्डोनेसिया र थाइल्यान्डका खेलाडी छन्। 

१८औं एसियाडअन्तर्गतको प्याराग्लाइडिङ इन्डोनेसिया पश्चिम जाभाको गुनुङ मास भन्ने स्थानमा सोमबारदेखि सुरु भएको हो । नेपालले भने क्रस कन्ट्रीमा पदकको अपेक्षा गरेको छ । नेपाली पुरुष टिम भने एक्युरेसीतर्फ तेस्रो चरणमा पुगेको छ । अन्तिम छ चरण पूरा गरेपछि मात्रै पदकको फाइनल हुनेछ । नेपालले सोमबार महिला र पुरुष दुवैतर्फको इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्टतर्फ प्रतिस्पर्धा गरेका छन् । १७ देशका १ सय ३० खेलाडीले सहभागी छन्। 

प्रतिस्पर्धमा महिला र पुरुष एकल एक्युरेसी र टिम एक्युरेसी इभेन्टतर्फ नेपाल दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो चरणमा प्रवेश गरेको प्याराग्लाइडिङका अफिसियल शैलेन रावतले जानकारी दिए । नेपालका लागि इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट बिल्कुलै नयाँ  हो।  

महिला एकल एक्युरेसीतर्फ त्रिशा श्रेष्ठ छैटाैं स्थानमा रहदै तेस्रो चरणमा प्रवेश गरेकी छिन् । यसै गरी महिला टिम एक्युरेसीमा नेपाल चौथो स्थानमा छ । यो इभेन्टमा पनि आयोजक इन्डोनेसिया अगाडि छ भने नेपालले पदकका लागि कोरिया, थाइल्यान्डको चुनौतीलाई पन्छाउनुपर्ने खाँचो छ । पुरुष टिम एक्युरेसीमा नेपाल दोस्रो चरण पार गर्दासम्म आठौं स्थानमा छ।

इन्डिभिजुअल एक्युरेसीमा छैटौं राउन्डसम्म र टिम एक्युरेसी इभेन्टमा १०औं राउन्डसम्म प्रतिस्पर्धा गर्नुपर्छ । बुधबार मात्रै पदकको टुंगो लाग्ने छ । एसियाडमा पहिलो पटक समावेश प्याराग्लाइडिङ खेलमा एक्युरेसी इभेन्ट नेपालका लागि पनि नयाँ भएको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ङग्लाइडिङ संघका महासचिवसमेत रहेको रावतले बताए।  

प्रतियोगिता सुरु हुनुभन्दा अघि  युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा खेलस्थल पुगेर खेलाडीको मनोबल उच्च बनाएका थिए । मन्त्री विश्वकर्माले खेलाडीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै हौसलासमेत प्रदान गरे । राखेप सदस्यसचिव केशवकुमार विष्टसमेत प्रतियोगितास्थल पुगेका थिए।

प्रतिस्पर्धामा नेपालसहित १७ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, अफगानिस्तान, चीन, हङकङ, इरान, जापान, साउदी अरेबिया, थाइल्यान्ड, कोरिया, लाओस, चाइनिज ताइपेइ, मंगोलिया, मलेसिया, कतार, सिंगापुर, पाकिस्तान, र इन्डोनेसिया छन्। 

प्रकाशित: ५ भाद्र २०७५ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App