१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसियाली भूमिबाहिर बंगलादेशलाई शृंखला

बासेटेरी – ओपनर तमिम इकबालको शतकप्रेरित बंगलादेशले शनिबार तेस्रो तथा अन्तिम  एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई १८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखला २–१ ले जितेको छ।

बंगलादेशले पछिल्लो ९ वर्षमा एसियाली भूमिबाहिर जितेको यो नै पहिलो शृंखला हो ।

३ सय २ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८३ रन मात्र जोड्न सक्यो।

वेस्ट इन्डिजका रोभमान पावेलले अविजित ७४ र ओपनर क्रिस गेलले ७३ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। ४१ बल खेलेका पावेलले ५ चौका र ४ छक्का प्रहार गर्दा ६६ बल सामना गरेका गेलले ६ चौका र ५ छक्का प्रहार गरे।

गेलले पहिलो विकेटका लागि ओपनर इर्भिन लुइससँग ५३ तथा साइ होपसँग दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दैै वेस्ट इन्जिडको शृंखला जित्ने सम्भावना जीवित राखेका थिए। तर गेललाई रुबेल हुसेनले मेहदी हसनबाट क्याच गराएपछि भने वेस्ट इन्डिज दबाबमा परेको थियो । ९४ बल खेलेका होपले ५ चौकाको मद्दतमा ६४ रन जोडे।

त्यसपछि ब्याटिङका लागि आएका पावेलले  सम्हालिएको प्रदर्शन गरे पनि उनलाई अन्य ब्याट्सम्यानले गतिलो साथ नदिँदा वेस्ट इन्डिजको शृंखला जित्ने लक्ष्यले पूर्णता पाउन सकेन। पहिलो एकदिवसीय खेलमा बंगलादेशलाई नतिजा सुम्पिएको वेस्ट इन्डिज दोस्रो खेलमा ३ रनको नाटकीय जित हात पार्दै शृंखलामा फर्किएको थियो।

बंगलादेशका मासरफ मोर्ताजाले २ तथा मुस्ताफिजुर रहमान, मेहदी हसन र रुबेल हुसेनले समान १ विकेट लिए।

यसअघि  टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले निर्धाििरत ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १ रनको योगफल तयार पारेको थियो।

३५ रन जोड्दा ओपनर अनामुल हक (१०) लाई गुमाएको बंगलादेशको इनिङ दोस्रो विकेटका लागि अर्का ओपनर इकबाल र साकिब अल हसनले ८१ रनको साझेदारी गर्दै उकासेका थिए।

१ सय २४ बल सामना गरेका इकबालले ७ चौका र २ छक्काको मद्दतमा १ सय ३ रन जोड्दा ४४ बल खेलेका साकिबले ३ चौकाको मद्दतमा ३७ रन जोडे। त्यस्तै मोहम्मदुल्लाले अविजित ६७ रनको योगदान गरे। ४३ बल सामना गरेका मोहम्मदुल्लाले ५ चौका र ३ छक्का प्रहार गरे।

वेस्ट इन्डिजका जेसन होल्डर र एस्ले नसैले समान २ तथा देवेन्द्र विश्व र सेल्डन कोट्रेलले समान १ विकेट लिए।

प्रकाशित: १४ श्रावण २०७५ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App