१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

कुतर्कले फुटबलको चीरहरण

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफ्ना खेलाडी पाउल पोग्बामा असाधारण प्रतिभा भए पनि लिगका लागि भने उनी अझै सक्षम भइनसकेको बताए।

फ्रान्सले रूसमा विश्वकप उपाधि जित्दा पोग्बा टिमका महत्वपूर्ण खेलाडीमध्येका एक थिए । फाइनलमा क्रोएसियालाई हराउँदा गोलसमेत गरेका पोग्बालाई फ्रान्सको उपाधियात्राका नायक भनेर विश्वव्यापी चर्चा भयो । तर माउरिन्होले भने उनको प्रशंसामा धेरै शब्द खर्चिएनन्। 

‘पोग्बा राम्रा खेलाडी हुन् । उनी विश्वकपजस्ता छोटा प्रतियोगितामा राम्रो खेल्छन् । उनले लिगमा पनि त्यस्तै खेलून् भन्ने मैले आशा गरेको छु,’ विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपभन्दा पनि लिगमा खेल्नु विशेष हुने माउरिन्होको संकेत थियो।

विश्व फुटबलका ‘स्पेसल वान’ माउरिन्होले पोग्बाको क्षमतामा प्रश्न गरेका होइनन् । विश्वकपलाई कम आँकेका पनि होइनन् । तर युरोपका चार फरक देशबाट लिग जितेका माउरिन्होले लिगको वास्तविकता अथ्र्याउन खोजेका थिए। 

रेलिगेसन नहुने लिगबाट मेरुदण्डको जस्तो योगदान खोज्नु भनेको मूर्खतासिवाय केही होइन । किनकि यसमा स्वच्छ प्रतिस्पर्धाको भावना हुँदैन। 

छोटो समयमा सकिने नकआउट प्रतियोगिता र लिगबीचको फरकबारे माउरिन्होले व्याख्या गर्न खोजेका थिए । लामो समय चल्ने लिगमा एकरूपको प्रदर्शन, मानसिक र शारीरिक रूपमा आवश्यक फिटनेसलगायतका विषयमा चर्चा गरेका थिए। 

माउरिन्होले केही हप्तापछि सुरु हुने इङ्लिस प्रिमियर लिगको विषयमा चिन्ता व्यक्त गर्ने क्रममा पोग्बाको प्रसंग कोट्याइरहँदा नेपालमा पनि लिग चर्चाको विषय बनिरहेको छ । तर नेपालमा पाँच वर्षपछि हुन लागेको लिगमा सहभागी टोलीका कुनै प्रशिक्षकले माउरिन्होजस्तो चिन्ता गर्नुपर्ने छैन । किनकि यहाँको लिग माउरिन्होको टोलीले खेल्नेजस्तो हुने छैन।

नेपाली फुटबलका मसिहाहरू अहिले कुतर्क गरेर आफ्नो दुनो सोझ्याउनमै मस्त छन् । फुटबलकै नाममा यो सुन्दर खेलको चिरहरण गर्न उनीहरूलाई भ्याइनभ्याइ छ।

विश्वका कुनै पनि लिगमा जस्तो नेपालमा यसपालि सहभागी टिमलाई हार्ने चिन्ताले पिरोल्ने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वले यसपालि लिगमा रेलिगेसनको व्यवस्था हटाएको छ । त्यसैले त लिग सुरु हुन दुई महिना मात्र बाँकी रहँदा पनि सहभागी टिमको कुनै चहलपहल छैन। 

माउरिन्हो र अन्य लिगका प्रशिक्षकहरु सुखद नतिजाका लागि योजना बनाइरहँदा नेपाली लिग किन विपरीत दिशातिर गइरहेको छ ? वास्तवमा लिग कस्तो हुनुपर्छ ? लिग भनेको के हो ? लिगको महत्व के हो त ? 

माउरिन्होकै भावना मान्ने हो भने लिग समग्र फुटबलकै मेरुदण्ड हो । फुटबलको आधार हो ।  किन त ? यसको उत्तर लामो हुन सक्छ । किनकि लिग फुटबलको बहुआयामलाई न्याय गर्ने थलो हो । जहाँ लामो समयसम्म क्लबहरूबीच नियमित प्रतिस्पर्धा भइरहन्छ । प्रत्येक खेलाडी र टिमले आफ्नो शारीरिक र मानसिक फिट्नेस सीमित अवधिका लागि मात्र कायम राखेर पुग्दैन।

प्रत्येक खेलमा उस्तै प्रदर्शनका लागि आफूलाई शारीरिक र मानसिक रूपमा फिट राख्न सक्नुपर्छ । हरेक खेलका नतिजा उपाधि जित्न, माथिल्लो वरीयतासँगै पाउने सुविधा हासिल गर्न वा घटुवा हुनबाट जोगिन अर्थपूर्ण हुन्छन् । त्यसैले फरक खेलका लागि फरक रणनीति बनाएर त्यसलाई मैदानमा कार्यान्वयन गर्न सक्नुपर्छ । जसले खेलाडीलाई बेग्लै खालको परिपक्वता प्रदान गर्छ । जसबाट सोझै सम्बन्धित खेलाडीको देश लाभान्वित हुन्छ। 

फुटबल भनेको मैदानभित्र खेलिने एउटा फगत खेल होइन । यो मनोरञ्जन हो । फुटबल शिक्षा हो । फुटबल संस्कार हो । जितमा नमात्तिने र हारलाई सहजै स्विकार्दै आगामी दिनमा जितका लागि आफूलाई तयार पार्न सिकाउने कला हो । फुटबल भाइचारा र एकताको माध्यम हो । आधुनिक फुटबल त एउटा ठूलो उद्योग हो, जसले लाखौं दर्शक र थुप्रै प्रायोजकलाई आफूतिर आकर्षित गर्न सक्छ । समग्रमा फुटबल सार्थक जीवन बाँच्न सिकाउने अद्भुत कला हो। 

फुटबललाई यस्तो बहुआयमिक महत्व दिने माध्यमचाहिँ लिग हो । मेरुदण्डले शरीरलाई भर दिएजस्तै लिगले देशको फुटबललाई भर दिन्छ । त्यसैले यसलाई फुटबलको मेरुदण्ड भनिएको हो । फुटबलको आधार भनिएको हो । राम्रो र सही लिगले प्रत्येक खेलका नतिजालाई उत्तिकै महत्व दिइरहेको हुन्छ । जसका कारण हरेक खेल रोमाञ्चक हुन्छन् । हरेक खेलमा मैदानभित्र प्रतिबद्ध प्रतिस्पर्धा हुन्छ । जसले दशौं हजार दर्शकलाई रंगशालासम्म डोर्याउँछ भने लाखौं टेलिभिजनको पर्दाअगाडि झुम्मिन्छन्।

दर्शकको त्यो चासो प्रायोजक आगमनसँग जोडिन्छ । हजारौं खेलाडी, प्रशिक्षक, रेफ्री, बल ब्वाइ, मैदान कर्मचारी, सुरक्षाकर्मीलगायतको रोजगारी यसले सिर्जना गर्छ । दर्शकको चासोबाट सही रूपमा फाइदा उठाउन सके दशौं करोडका ‘फ्यान किट’ को कारोबारले बजार चलायमान बन्न सक्छ । ‘मर्चेन्टाइजिङ’ व्यवसाय फस्टाउँछ, खेलाडीको स्टारडम विकास हुन्छ । जसबाट खेलाडीहरू व्यक्तिगत रूपमा पनि व्यावसायिक प्रतिष्ठानसँग जोडिन्छन् । कमाइका नयाँ बाटा खुल्छन् । खेलकै माध्यमबाट सहर, समाज र देशलाई एकताको सूत्रमा बाँध्न सकिन्छ। 

यो सबथोक वास्तविक लिगबाट मात्र सम्भव हुन्छ । रेलिगेसन नहुने लिगबाट मेरुदण्डको जस्तो योगदान खोज्नु भनेको मूर्खतासिवाय केही होइन । किनकि यसमा स्वच्छ प्रतिस्पर्धाको भावना हुँदैन । जिते पुरस्कार पाउने तर हार्दा केही गुमाउनु नपर्ने भएपछि प्रतिस्पर्धाको कल्पना गर्न सकिन्न । नझर्ने लिगका लागि कुनै पनि क्लबले ठूलो धनराशि खर्चेर स्टार खेलाडी भित्र्याउँदैन।

राम्रै खेलाडीलाई पनि भित्र्याउन क्लबबीच प्रतिस्पर्धा नहुँदा उनीहरूको पारिश्रमिक स्वत घट्छ । कम पारिश्रमिक खाने खेलाडीले शारीरिक भिडन्तसमेत हुने फुटबलमा आवश्यक मिहिनेत गर्दैनन् । उपाधि लक्ष्य बनाएका सीमित दुई–तीन क्लबले प्रतिबद्ध मिहिनेत गरे पनि तलतिरका क्लबले खेललाई महत्व दिँदैनन् । जसबाट मिलेमतोको सम्भावना झन् बढ्छ। 

नेपालमा भने मेरुदण्डले शरीरलाई जस्तो फुटबललाई भर दिन लिग गरिँदै छैन । एन्फा नेतृत्वको भनाइअनुसार यसपालिको लिग ‘वार्मअप’ मात्र हो । यो देशभित्र फुटबलको माहोल सिर्जना गर्नका लागि हो । मानौं, देशमा अहिले फुटबलको कुनै अस्तित्व छैन । भनिन्छ, ‘तपार्इंसँग तर्क गर्ने क्षमता छैन भने कुतर्क पनि नगर्नुस् । बरु मुख थुनेकै बेस।’

तर नेपाली फुटबलका मसिहाहरू अहिले कुतर्क गरेर आफ्नो दुनो सोझ्याउनमै मस्त छन् । फुटबलकै नाममा यो सुन्दर खेलको चिरहरण गर्न उनीहरूलाई भ्याइनभ्याइ छ । जबाफदेहिताको खडेरी लागेको देशमा फुटबल नेतृत्वसँग प्रश्न गर्ने सरोकारवालाहरूको जाँगर सिद्धिन आँटिसक्यो । तर नेतृत्व तर्कसंगत जबाफको साटो शक्तिको मातमा अन्टसन्ट बर्बराउनुमै बहादुरी ठानिरहेको छ। 

वर्तमान नेतृत्वले चाहेजस्तो माहोल त मोफसलमा भएका पचासौं नकआउट प्रतियोगिताले नै कायम राखेका थिए । तिनले गर्न नसकेको भनेको नेपाली फुटबललाई भर दिन हो । नेपाली फुटबलको सर्वोच्च निकायले गर्ने लिगले पनि भर दिँदैन भने त्यो लिग के काम ? 

प्रकाशित: १३ श्रावण २०७५ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App