२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडीसँग स्पष्टीकरण सोध्ने बंगलादेशको घोषणा

ढाका – बंगलादेशले आइतबार टेस्ट क्रिकेटमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुमा शीर्ष खेलाडीले विभिन्न्न बहानामा घरेलु प्रथम श्रेणीको प्रतियोगिता नखेल्नु मुख्य कारण रहेको औंल्याउदै त्यस्ता खेलाडीसँग अबबाट स्पष्टीकरण सोध्ने घोषणा गरेको छ।

२००२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पूर्ण राष्ट्रको सदस्यताको हैसियत प्राप्त गरेको बंगलादेशले हालसम्म १ सय ८ टेस्टमा मात्र १० टेस्ट जितेको छ । बंगलादेशले पछिल्लो ७ टेस्टमा ६ टेस्ट शृंखला गुमाएको छ । साथै बंगलादेशले पछिल्ला ६ इनिङ्समा २ सय रन कटाउन सकेको छैन । बंगलादेश गत महिना वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा ४३ रनमा अलआउट भएको थियो । जुन उनीहरूको टेस्ट इतिहासकै सबैभन्दा न्यून योगफल हो।

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का अधिकारीले टेस्ट क्रिकेटमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुमा शीर्ष खेलाडीले विभिन्न्न बहानामा घरेलु प्रथम श्रेणीको प्रतियोगिता नखेल्नु मुख्य कारण भएको बताए । 'राष्ट्रिय टोलीमा खेलाडीको छनोट गर्दा उनीहरूले घरेलु प्रतियोगितामा गरेको प्रदर्शन मुख्य आधार हो । तर हाम्रोमा खेलाडीहरू घरेलु प्रतियोगिताबाट पन्छने गरेका छन्,' बिसिबीका प्रवक्ता जलाल युनुसले भने, 'यो क्रम शीर्ष खेलाडीहरूमा पनि छ । धेरैले पारिवारिक कारण देखाउँदै पहिलो श्रेणीका प्रतियोगिता खेल्दैनन् । जसका कारण हामीसँग टेस्ट टोलीका लागि सीमित खेलाडी उपलब्ध हुन्छन् र हाम्रो प्रदर्शन निरन्तर खस्किरहेको छ।'

'त्यसैले अबका दिनमा विभिन्न बहानामा घरेलु प्रतियोगितामा सहभागी नहुने खेलाडीहरूसँग बोर्डले स्पष्टीकरण लिने निर्णय गरेको छ,' युनुसले थपे। बिसिबीका अध्यक्ष नाजमुल हसनले साकिब अल हसन, मुस्ताफिजुर रहमान र रुबेल हुसेनजस्ता स्टार खेलाडी टेस्ट क्रिकेटसमेत खेल्न अनिच्छुक रहेको बताएको दुई दिनपछि नै बोर्डले खेलाडीसँग स्पष्टीकरण सोध्ने घोषणा गरेको हो।

'साकिब, मुस्ताफिजुर र रुबेल टेस्ट क्रिकेट खेल्न चाहँदैनन्,' हसनले शुक्रबार एक कार्यक्रममा भनेका थिए, 'लामो संरचना र कठिन भएकाले धेरै खेलाडी टेस्ट खेल्न अनिच्छुक भएको हुन सक्छ।'

 

प्रकाशित: ७ श्रावण २०७५ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App